२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुर-११ को नीति : सुत्केरीलाई भाले उपहार

तुलसीपुर, १३ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले आगामी आर्थिक वर्ष २०८१/२०८२ देखि सुत्केरीलाई भाले उपहार दिने भएको छ । आमा र शिशुको मृत्युदर कम गराउन सुत्केरीलाई भाले उपहार दिने नीति अघि सारिएको हो ।

यसका लागि गर्भवती अवस्थामा कम्तिमा पनि ८ पटक स्वास्थ्य जाँच गराउनुपर्ने र २० वर्ष माथिका आमालाई मात्र भाले उपहार दिने वडा अध्यक्ष मान बहादुर रावतले बताउनुभयो ।

वडाले सुत्केरीलाई भाले उपहार दिने नीति कार्यान्वयनका लागि आवश्यक बजेट बिनियोजन गरेको अध्यक्ष रावतले बताउनुभयो । उहाँका अनुसार वडाले सर्प दंशका बिरामीलाई उपचारका लागि निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

सर्पको टोकाईबाट उपचारको लागि तुलसीपुर, घोराही, लमही, बाँके लगायतका स्थानमा जानुपर्ने अवस्थामा एम्बुलेन्सको भाडा वडाले बेहोर्ने भएको हो । आगामी आर्थिक वर्षदेखि यो नीति लागु हुने वडाले जनाएको छ । सर्पले टोक्दा उपचारको लागि अन्यत्र लैजान आर्थिक अवस्था कमजोर भएकालाई थप सहज हुने वडा अध्यक्ष रावतले बताउनुभयो ।

त्यसैगरी वडाले मृत्यु संस्कारमा जाँदा चिनीको साटो अब घ्यु लिएर जाने नीति अघि सारेको छ । यसका लागि पनि वडाले बजेट विनीयोजन गरेको छ । वडाले आगामि वर्षबाट यो कार्यक्रम लागु गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस