दाङ, १० असार । तुलसीपुर–१९ हाडिमेमा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रले लागू पदार्थ दुर्व्यसन न्यूनीकरणबारे सचेतना प्रदान गरेको छ । केन्द्रले जनता संस्कृत मावि बिजौरीका विद्यार्थीहरुलाई लागू पदार्थ दुव्र्यसनको व्यक्तिगत तथा सामाजिक असरबारे सचेतना गराएको हो । पछिल्लो समय बढ्दै गएको लागूपदार्थ दुव्र्यसन न्यूनिकरणका लागि केन्द्रले विद्यार्थी तथा सरोकारवाला निकायसंग कार्यक्रम गरिरहेको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताउनुभयो ।
उहाँले समाजमा जटिल रुपमा देखिन थालेको लागूऔषध दुर्व्यसनलाई न्यूनीकरण गर्न नागरिक समाज, सामाजिक संघ संस्था, अभिभावक, विद्यार्थी, विद्यालय, शिक्षक सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मनोविश्लेषक शैलेश आचार्यले विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन, लागूपदार्थको सेवनले पार्ने असरको बारेमा विद्यार्थीलाई सचेतना गराउनु भएको हो ।
उहाँले लागूपदार्थ दुर्व्यसनले शारीरिक, मानसिक र सामाजिक रुपमा असर पारेको बताउनुभयो । उहाँले विद्यार्थीलाई लागूऔषध सेवन पारिवारिक सामाजिक रुपमा समेत असर पार्ने बताउनुभयो ।
आजका बालबालिका नै भोलिका जिम्मेवार ब्यक्ति भएकाले यस्ता कुराहरुबाट बालबालिकाहरु टाढा हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले पछिल्लो समय विद्यार्थीहरु नै लागूपदार्थ दुर्व्यसनमा धेरै फस्न थालेको भन्दै स्कुल लेबलबाट नै सकारात्मक कुरा सिकाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कक्षा ८,९ र १० का गरि २५० बढी विद्यार्थीको सहभागीता रहेको थियो । विद्यालयका प्रधानाध्यापक पदमबहादुर रावतको अध्यक्षतामा कार्यक्रम भएको हो ।
जनता संस्कृत मावि बिजौरीको आयोजना तथा नयाँ पाईला पुर्नस्थापना समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण बाल क्लब परिचालक तथा जुनियर रेडक्रस सर्कल मावि बिजौरीका शिक्षक नायक शंकर आशिष आचार्यले गर्नुभएको हो ।


