
दाङ, ९ असार ।
दाङको दंगिशरण गाउँपालिकामा १५ शैय्याको आधारभूत अस्पताल संचालनमा आएको छ । दंगिशरण -६ बागरबाट प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नती पश्चात् आधारभूत अस्पताल आइतबारदेखि सेवा शुभारम्भ भएको छ।
अस्पताल संचालन समिति अध्यक्ष एवम् दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दिपक गिरीको प्रमुख आतिथ्यतामा अस्पतालको उद्घाटन गरिएको हो ।
संघिय सरकारबाट विनियोजित १९ करोड २० लाख रूपैयाँ रकमबाट घटिघटाउ मुल्यमा १२ करोड ६२ लाख रूपैयाँमा भवन निर्माण भएको हो । सरकारको हरेक पालिकामा १५ शैयाको आधारभुत अस्पताल सञ्चालन गर्ने अवधारणा अनुसार २०७६ देखिसुरू भएको अस्पताल गतवर्ष फागुनमा निर्माण सम्पन्न भएको हो ।
अस्पतालको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गिरिले आधारभुत असपतालको दिगो व्यवस्थापनका लागि पालिकाले ध्यान दिनुपर्ने बताउनुभयो । ‘पालिकास्तरमा सञ्चालनमा आएका अस्पतालहरूको नियमिततामा सरकारको भूमिका कस्तो रहन्छ, यस विषयमा संसदमा विशेष समय लिएर आवाज उठाउछु ।’ उहाँले भन्नुभयो-‘ दंगिशरणमा सुविधा सम्पन्न अस्पतालको शुभारम्भ भएसंगै पश्चिम क्षेत्रमा स्वास्थ सेवामा गौरवको विषय रहेको छ ।
अस्पताल संचालनमा आएसंगै सामान्य उपचारका लागि तुलसीपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । ‘यस अघि पालिकामा आधारभूत अस्पताल नहुँदा उपचारका लागि तुलसीपुर वा अन्यत्र ठाउँमा जानुपर्ने बाध्यता थियो ।’-उहाँले भन्नुभयो ।
अध्यक्ष गिरीले अस्पतालको व्यवस्थापनका लागि स्थानीय सरकारको भूमिका संगै प्रदेश र संघलाई समेत सहयोगका लागि आग्रह गरिने बताउनुभयो । स्वास्थ्यकर्मीहरूलाई अस्पतालमा पुग्ने स्वास्थ्यकर्मीलाई मुस्कान सहितको सेवा प्रदान गर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पुर्व सदस्यहरू शंकर गिरी र धमकली चौधरी,शान्तिनगर गाँउपालिका अध्यक्ष प्रमोद बस्नेत ,बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री लगाएतले अस्पतालको सेवा प्रबाहमा ध्यान दिनुपर्ने बताएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविन गौतमका अनुसार बिरामी भर्ना सेवा, सामान्य शल्य चिकित्सा, बालबालिका,महिला सम्बन्धि उपचार सेवा,भिडियो एक्सरे,एक्सरे,फार्मेसी,स्वास्थ्यकर्मीसहितको २४ घन्टा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
अस्पतालमा अहिले एमडिजिपि डाक्टर एक र एमविविएस दुई जना डाक्टरसहित २६ जना स्वास्थ्यकर्मिको व्यबस्थापन गरिएको दंगिशरण गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रदीप योगिले बताउनुभयो । जसमध्ये ३ जना डाक्टरसहित १६ जना स्वास्थ्यकर्मी संघको दरबन्दी रहेको छ भने १० जना स्वास्थ्यकर्मी गाउँपालिकाले व्यवस्थापन गरेको छ ।
उहाँका अनुसार यस अघि २०५२ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा २०६५ सालदेखि भने ३ शैय्यामा सञ्चालनमा आएको थियो । सोही स्वास्थ्य केन्द्रको स्तरोन्नति भई १५ शैय्याको आधारभुत अस्पतालका रूपमा सञ्चालनमा आएपछि स्थानीयलाई सेवा प्रबाहमा सहज भएको छ । अस्पताल ५ विगाह ३ कठ्ठा ३ धुर क्षेत्रफलमा रहेको छ ।
अस्पतालमा दंगिशरणसहित,शान्तिनगर,बंबई गाउँपालिका,सल्यानको कालीमाटी गाउँपालिका र रोल्पाबा समेत विरामी जाँच गराउन आउने गरेको अस्पतालका ल्याव टेक्निसिएन निरक्षक दिपकराज वलीले बताउनुभयो ।
उहाँका अनुसार सबैभन्दा धेरै क्षयरोगका बिरामी सेवा लिन आउने गरेका छन् । अन्य स्वास्थ्य संस्थाभन्दा भरपर्दो सेवा प्रबाह भएकाले क्षयरोगका विरामीको चाप बढि रहेको बताउनुभयो ।
कार्यक्रममा जग्गादाताहरूलाई समेत सम्मान गरिएको छ । जग्गादाता स्वर्गीय गोपाल बहादुर थापाको सम्झनामा जग्गादान गर्ने श्रीमती जानका थापा, स्वर्गीय खड्क बहादुर डाँगीका श्रीमती चन्द्रा डाँगी र स्वर्गीय रामबहादुर डाँगीका छोरी चित्रा बुढाथोकीलाई सम्मानित गरिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविन गौतमको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण दंगिशरण गाउँपालिकाका सूचना अधिकारी टेकराज खत्रीले गर्नुभएको थियो ।