
सल्यान, ९ असार । सल्यानको कपुरकोट गाउँपालिकाका विद्यालयमा पाहुना शिक्षकले विद्याथीलाई करियर काउन्सेलिङ गर्ने गरेका छन् । पालिकाले विद्याथीलाई अध्ययन पश्चात् आफ्नो करियर बनाउन सहजताका लागि ‘पाहुना शिक्षक’ को अवधारणा अघि सारेको हो ।
शुक्रबार एकै दिन गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयहरूमा अध्ययनरत कक्षा ८ देखि माथिका १५०० जना भन्दा बढी विद्यार्थीहरूलाई १० जना ‘पाहुना शिक्षक’ले करियर काउन्सेलिङ गरेको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । न्याय, प्रशासनिक र शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिले विद्यार्थीलाई काउन्सेलिङ गरेको उहाँले बताउनुभयो ।
जसअनुसार वीरेन्द्र मावि गर्पामा जिल्ला अदालतका वैतनिक वकिल अधिवक्ता इन्द्रबहादुर भण्डारी ,प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओली र शिक्षा शाखा प्राविधिक सहायक रमेश कुमार आचार्यले क्रमश वकिल के हो, कसरी बन्ने र यसमा भविष्यका सम्बन्धमा अनि निजामती सेवा र शिक्षा सेवाको परिचय र यसमा प्रवेश गर्न चाहनेहरूको निम्ति के के गर्नुपर्दछ लगायतका विषयमा काउन्सलिङ गर्नुभएको हो ।
यस्तै कालिका माध्यमिक विद्यालय र नेपाल राष्ट्रिय माविमा जिल्ला अदालतका श्रेष्ठदार उपसचिव नारायण प्रसाद चापागाई , तहसिलदार खुमबहादुर बोहरा र गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले अदालती प्रक्रिया, न्याय सेवामा विद्यार्थीको भविष्य, मुद्दा फछ्र्यौट, बाल अधिकार र गाउँपालिकामा न्यायिक इजलासको कार्यप्रकीयाका विषयमा काउन्सिलिङ गर्नुभएको छ ।
नेपाल राष्ट्रीय मावि किमुचौरमा सामाजिक विकास शाखा प्रमुख मोहन खड्काले लेखन सीप, उच्च शिक्षा पछिको रोजगारीको अवसर र पठनशैलिको विषयमा विद्यार्थीलाई काउन्सेलिङ गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै भवानी मावि छायाँनाथ र जीवनज्योति नमुना मावि रिममा सल्यान जिल्लाका न्यायाधीश देवकुमार गिरी, जिल्ला अदालतका मुद्दाफाट हेर्ने फाँट प्रमुख पदम विक र गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले क्रमश न्यायाधीश कसरी बन्ने ,न्याय सेवामा कसरी प्रवेश गर्ने ,बाल अधिकार र बालबालिका सम्बन्धी कानुनी विषयहरू, अदालतमा मुद्दा फछ्र्यौट प्रक्रिया र गाउँपालिकाले शिक्षा क्षेत्रमा गर्न खोजिएका कार्यक्रमहरू लगायतका विषयमा प्रशिक्षण गर्नुभएको छ ।
विद्यार्थीहरुलाई किताबी ज्ञानमात्र नभई आफ्नो भविष्य आफै निर्धारण गर्न सक्ने बनाउने गरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘अतिथि कक्षा’ को अवधारणा अघि सारेको गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । यसैबिच प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले अभियानमा साथ दिने अतिथि शिक्षक, विद्यालय परिवार लगायतलाई धन्यवाद तथा आभार प्रकट समेत गर्नुभएको छ ।