२०८१ मङ्सिर २३ गते आइतवार

हावाहुरीले टिनको छानो पल्टाउँदा भवनमा क्षति


दाङ, ६ असार । गतराति आएको हावाहुरीले वीरेन्द्र माध्यमिक विद्यालयको जग्गामा रहेको भवनको छानामा क्षति गरेको छ । हावाहुरीका कारण तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भ्यूडहर सुनपुरको जग्गामा निर्मित मदन भण्डारी रङ्गशालाको दक्षिणतिर रहेको १० कोठे भवनको छानोमा ठुलो क्षति भएको विद्यालयका प्रधानाध्यापक टोप बहादुर घर्तीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हावाहुरीले ३ वटा कोठाको छानो पूणर्रुपले पल्टाएर करिब दुई लाख रुपियाँ बराबरको क्षति भएको छ । तीनओटा पसलको सामान र कवर्ड हलमा समेत हावाहुरीबाट क्षती भएको छ ।

समयमा नै उचित मर्मत हुन नसकेमा दशओटा कोठाको फाइबर टिनको छाना पुनः हावाहुरीबाट क्षति हुन गएर करिब १० लाखभन्दा माथिको क्षति हुनेछ । यसको लागि स्थानीय सरकार लगायत सम्बन्धित निकायबाट आवश्यक बजेटको पहल गरी भविष्यमा हुने क्षतिबाट बच्नुपर्ने विद्यालय प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस