तुलसीपुर, ५ असार । तुलसीपुर-७ झुमरेमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयका विद्यार्थीलाई बालविवाह न्यूनिकरणबारे सचेतना प्रदान गरिएको छ । विद्यालयले बुधबार बालविवाह न्यूनिकरणसंगै लागूऔषध दुव्र्यसन विरुद्धको सचेतना प्रदान गरेको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरिक्षक भरतनाथ योगीले हाम्रो पहुँच माविमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई लागूऔषध दुव्र्यसन विरुद्धको शिक्षा र बालविवाह न्यूनिकरणबारे सचेतना प्रदान गर्नुभएको हो ।
प्रहरी नायव निरिक्षक योगीले बालविवाह गर्दा हुने कानुनी जटिलता, स्वास्थ्यमा पार्ने असर, लागूऔषध दुव्र्यसनका असर, सामाजिक प्रभाव लगायतका विषयमा प्रशिक्षण गर्नुभएको हो ।
उहाँले बालविवाह गर्दा ३ वर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवाना हुने बताउनुभयो । यस्तै बालविवाहका कारण व्यक्तिगत तथा परिवारमा समस्या आउने भएकाले २० वर्ष नपुगी विवाह गर्न नहुने उहाँले विद्यार्थीलाई सचेतना प्रदान गर्नुभएको छ ।
समाजमा पछिल्लो समय विकरालरुपमा देखिन थालेको समस्या बालविवाह र लागुऔषध दुव्र्यसनबाट बालबालिकालाई अलग बनाउनका लागि विद्यालयले सचेतना कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो । उहाँले विभिन्न समयमा विद्यार्थी तथा अभिभावकलाई सचेतना प्रदान गर्ने गरिएको बताउनुभयो ।


