दाङ, ५ असार । तुलसीपुर मेट्रो कलेजले आमालाई कानुनी शिक्षा दिने अभियान थालेको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका आमालाई कानुनी शिक्षा दिने अभियान थालिएको मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले बताउनुभयो ।
अभियान अन्तगर्त नगरका एक हजार आमालाई कानुनी शिक्षा दिने प्रमुख आचार्यले बताउनुभयो । कानुनी शिक्षा अन्तगर्त लैंगिक हिंसा, घरेलु हिंसा, संविधानमा भएका अधिकार र न्यायिक समितिमा हुने न्याय निरुपन लगायतका विषयमा आमाहरुलाई कानुनी शिक्षा प्रदान गरिरहेको उहाँको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुर मेट्रो कलेजले थालेको कानुनी शिक्षा अभियान १९ वटै वडामा संचालन हुने कलेज प्रमुख आचार्यले बताउनुभयो । यसैक्रममा आज वडा नम्बर ८ र ९ का आमाहरुलाई कानुनी सचेतना प्रदान गरिएको उहाँले बताउनुभयो ।
मेट्रो कलेजमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले अधिवक्ताको सहयोगमा कानुनी शिक्षा प्रदान गरिरहेका छन् । वडा नम्बर ८ मा बिजय पोखरेल र वडा नम्बर ९ मा शुष्मा केसीले १०० भन्दा बढी आमालाई कानुनी शिक्षा प्रदान गर्नुभएको हो । यसअघि वडा नम्बर १, २ र १३ वडाका आमालाई कानुनी शिक्षा प्रदान गरिएको छ ।