
दाङ, २७ जेठ । दाङमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका १ भमकेका २७ वर्षिय सर्मिला विकको मृत्यु भएको तुलसीपुर उपमहानगरपालिकाका मातृ तथा नवजात शिशु कार्यक्रमका फोकल पर्सन राधिका गौतमले बताउनुभयो ।
उहाँको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको गौतमले बताउनुभयो । यस्तो समस्या एक हजार जनामा एक दुई जनालाई मात्रै देखिने गर्दछ । त्यसमा सर्मिला पनि परेको गौतमले बताउनुभयो ।
‘बच्चा जन्मेको आधा घण्टाभित्र साल झर्नुपर्ने हो ।’ उहाँले भन्नुभयो-‘आधा घण्टाभित्र साल नझरेपछि एमआरपी विधि (हातको प्रयोग गरी) बाट साल झारिएको थियो । साल झरेपछि रक्तश्राव शुरु भएको हो ।’
तुलसीपुर-१ पवननगर स्वास्थ्य चौकीमा सुत्केरी भएको शर्मिलालाइै धेरै रगत बगेपछि स्वास्थ्य संस्थाबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । अस्पतालमा आउँदा शर्मिला बेहोस अवस्थामा रहेको प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत स्त्रिरोग विषेशज्ञ डाक्टर विनोद सिंहले बताउनुभयो ।
उहाँको ६ सय एमएल भन्दा धेरै रगत बगीसकेको थियो । अस्पतालबाट दिनुपर्ने सबै सेवा दिदाँ पनि शर्मिलाको अवस्थामा सुधार नआएको उहाँले बताउनुभयो । सिंहका अनुसार शर्मिलाको रगत बग्न नरोकिएपछि आइसियुमा राखेर उपचार गर्नुपर्ने तर अस्पतालमा आइसियुको सुविधा नभएको सुत्करीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको थियो ।
उहाँलाई शनिबार राति ९ बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरले मृत घोषणा गरेको मृतकका अमाजुदिदी सीता विकले जानकारी दिनुभयो । शर्मिलाको यो दोस्रो पटकको सुत्केरी हो । उहाँको यसअघिको एउटा ३ वर्षको छोरी रहेको छ । उहाँले अहिले छोरालाई जन्मदिनुभएको हो । छोराको अवस्था सामान्य रहेको छ ।