
सल्यान, १६ जेठ । सरस्वती आधारभुत विद्यालयले मंगलबार ४४ औं वार्षिकोत्सब मनाएको छ । सल्यानको कपुरकोट-५ जामुनेचौरमा रहेको विद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि ४४ औँ वार्षिकोत्सब मनाएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र बोहराको अध्यक्षता तथा कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यता तथा कपुरकोट-५ का अध्यक्ष होमराज खड्काको विशिष्ट आतिथ्यमा कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले सरस्वती आधारभूत विद्यालयको भवन निर्माणका लागि आगामी वर्षको बजेटमा संघ सरकारले सम्बोधन नगरे पालिकाले बजेट बिनियोजन गर्ने बताउनुभयो ।
उहाँले पालिकाले शिक्षाको सुधार गर्नका लागि कक्षा ५ र ८ को परिक्षा पालिकाबाटै हुने अवधारणा अघि सारेको बताउनुभयो । यस्तै वडा अध्यक्ष होमराज खड्काले विद्यालयको भौतिक एवं शैक्षिक प्रगतिका लागि वडा सरकारले आवश्यक समन्वय गर्ने बताउनुभयो ।
कपुरकोट गाउँपालिकाकाको शिक्षा शाखाका प्राविधिक सहायक शैक्षिक सुधारका लागि अभिभावकको चासो बढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले बालबालिकाको शिक्षाको सुधार ल्याउनका लागि शिक्षकसंगै अभिभावकले पनि चासो दिनुपर्नेमा जोड दिनुभयो ।
जीवन ज्योति नमुना माविका प्रधानाध्यापक भूपाल साहुले विद्यालयको स्तरवृदी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दक्ष र नैतिकवान जनशक्ति निर्माणका लागि शिक्षक र अभिभावक जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
सामुदायिक बन गाउँपालिका महासंघका अध्यक्ष खड्ग केसीले अक्षकोषमा सहयोग गर्न आम अभिभावकलाई अनुरोध गर्नुभयो ।
यस्तै निवर्तमान वडा सदस्य भिमा बुढाथोकीले बालबालिकालाई नैतिकवान बनाउन अभिभावकले पनि समय दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश कुमार शर्माले विद्यालयको प्रगति विवरण पेश गर्नुभएको हो । कार्यक्रममा पूर्व प्रधानाध्यापक, अक्षयकोषदाताई सम्मान गरिएको थियो । शिक्षक राम बहादुर विश्वकर्माको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण बिष्णु बुढाथोकीले गर्नुभएको हो ।