
दाङ, ७ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेण्डरी स्कुलले अभिभावकहरुलाई अभिमुखिकरण गरेको छ ।
हाम्रो पहुँच बशुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित विद्यालयले आज तुलसीपुरमा असल अभिभावक निर्माणका लागि अभिभावकहरुलाई अभिमुखिकरण गरेको हो ।
संस्थाका सूचना तालिम तथा अध्ययन उपसमितिका संयोजक जिबराज अधिकारीको अध्यक्षता तथा नेपालका ख्यातिप्राप्त प्रशिक्षक प्रितम पौड्यालको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रम भएको हो ।
प्रशिक्षक पौड्यालले बालबालिकाको पहिलो पाठशाला घर भएकोले घरबाटै असल शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले अभिभावकलाई अभिमुखीकरण गदै असल छोराछोरी बनाउनको लागि अभिभावक पनि असल हुनुपर्नेमा जोड दिनुभयो ।
पौड्यालले अभिभावकहरुले छोराछोरीलाई समय नदिंदा गलत बाटोमा लाग्ने हुँदा छोराछोरीहरुलाई समय दिन आग्रह गर्नुभयो । छोराछोरीहरुलाई असल शिक्षा दिनको लागि अभिभावक पनि असल हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले छोराछोरीलाई राम्रो कुरा सुनाउने, उनिहरुको प्रशंसा गर्ने, उनिहरुसंगै आफु पनि पढ्ने, समय समयमा घुमाउन लैजाने, संस्कार घरबाटै सिकाउन अभिभावकहरुलाई आग्रह गर्नुभयो । विद्यालयसंगै घरमा बालबालिकाले पढ्ने वातावरण अभिभावकले सिर्जना गर्नुपर्ने भन्दै उहाँले छोराछोरी संगत कस्तो संग छ त्यसमा पनि ध्यान दिन अभिभावकलाई सुझाव दिनुभयो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्र भण्डारीले शिक्षामा रुपान्तरण हुन आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्नो बालबालिकालाई असल शिक्षाका लागि अभिभावक अझ बढी गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
समाज रुपान्तरणको लागि विद्यालयको सुरुवात गरिएको बताउँदै उहाँले विद्यालयले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञानसिकाउँदै आएको बताउनुभयो ।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सुर्य प्रसाद शर्माले छोराछोरीको भविष्य अभिभावकको हातमा रहेकोले अभिभावक छोराछोरीको भविष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
बालबालिकाहरु विद्यालयमा भन्दा घरमा धेरै समय बिताउने भएकोले घरमा नै अभिभावकले असल शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई विद्यार्थीको शैक्षिक नतिजा मात्रै नहेरेर व्यावहारिक ज्ञान सिकाउन आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले विद्यालले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिदै आएको बताउनुभयो । विद्यालले सबै क्षेत्रमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गरेको उहाँको भनाई छ । विद्यालयले धेरै अभिभावकको मन जित्न सफल भएकाले अहिले एक हजार तीन सय विद्यार्थीहरुले अध्ययन गरिरहेको बताउनुभयो ।
संस्थाका सल्लाहाकार नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकोे सहजीकरण विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले गर्नुभएको हो । अभिमुखिकरण कार्यक्रममा ८ सय बढी अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यालयले विभिन्न समयमा अभिभावकहरुलाई अभिमुखीकरण गराउदै आएको छ ।