सल्यान, ६ जेठ । दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा सल्यान जिल्ला अस्पतालमा एक करोड बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ ।
कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि तालिम प्राप्त दक्ष डाक्टर, स्वास्थ्यकर्मी व्यवस्थापन नगर्दा तीन वर्षदेखि सेवा सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताउनुभयो ।
भेन्टिलेटर सञ्चालनका लागि कुनै चासो नदेखाएपछि मेसिन बिग्रने अवस्था आएको छ । कर्णाली प्रदेश सरकारले २०७६÷०७७ मा २ करोड ५८ लाख बजेटबाट ६ शैय्याको भेन्टिलेटर र १४ शैय्याको आईसीयू सञ्चालन गर्नको लागि मेसिन तथा बेड खरिद गरेको थियो ।
आईसियू सेवा सञ्चालन नभए पनि बेड भने प्रयोगमा आइरहेको उहाँले बताउनुभयो ।
२०४४ सालमा स्थापना भएको १५ शैय्याको अस्पताल अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । अस्पतालले आफ्नै प्रयासले अहिले ४० शैय्याको व्यवस्था गरेर विरामीलाई सेवा दिँदै आएको छ । अस्पतालका एमडिजिपी डा. अभिषेक सिंहले आईसीयू तथा भेन्टिलेटर सेवा सञ्चालनमा ल्याउन नसक्दा गम्भीर खालका विरामीलाई नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद श्रेष्ठले जनशक्ति व्यवस्थापन र भवन बनिसकेको ब्लड बैंक सञ्चालनको पहल भइरहेको बताउनुभयो ।


