
सल्यान, २ जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा शैक्षिक सत्र २०८० को वार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ । पालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले सञ्चालन गरेका वार्षिक गतिविधिका बारेमा समिक्षा कार्यक्रम सुरु गरिएको हो ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा पालिकाका २४ वटा सामुदायिक विद्यालय, ४ वटा संस्थागत विद्यालयको वार्षिक गतिबिधि, विद्यालयले गरेका नयाँ अभ्यास, सञ्चालनमा देखिएका चुनौती, शैक्षिक गुणस्तरको संभावना, शैक्षिक कार्यायोजना लगायतका विषयमा विवरण प्रस्तुत गरिने शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीले जानकारी दिनुभयो ।
समिक्षा कार्यक्रमकै अवसरमा विद्यालयले गरेको प्रस्तुतीको आधारमा उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ छनौट गरी सम्मान गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।
यस्तै २०७९ को एसइई र २०८० को पालिका स्तरीय कक्षा ५ र ८ को परिक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्र÷छात्रा लाई नगद पुरस्कार सहित सम्मान गरिने छ भने ३० बर्षभन्दा बढी शिक्षण सेवा गर्नु भएका शिक्षकलाई सम्मान गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।