सल्यान, १ जेठ । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा रहेको जीवनज्योति नमुना माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम गरिएको छ । नवौँ मणीस्मृति दिवसको अवसरमा विद्यालयमा छात्रवृत्ति तथा सम्मान कार्यक्रम गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा शैक्षिक सत्र २०८० को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बालविकासदेखि कक्षा ९ सम्मका १/१ जना छात्रछात्रालाई अक्षयकोषबाट प्राप्त ब्याज रकमले झोलासहित शैक्षिक सामग्रि तथा प्रमाणपत्र वितरण गरिएको छ ।
यस्तै मणिस्मृत फाण्डेशनद्वारा विभिन्न चार विधामा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गरिएको छ । सामाजिक विधातर्फ कपुरकोट–५ दयाकोटका देवबहादुर भण्डारी, पूर्व विद्यार्थीको तर्फबाट रिम स्वास्थ्य चौकीमा कार्यरत सिअनमी नेत्रा बोहरा, शिक्षा क्षेत्रको तर्फबाट जीवन ज्योति माविका पूर्व सहायक प्रधानाध्यापक तथा रझेना मावि घोराही दाङका सहायक प्रधानाध्यापक लालमणी आचार्य, कृषि क्षेत्रको तर्फबाट कपुरकोट–५ सल्लाम निवासी गोल बहादुर पुनलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।
त्यस अवसरमा विद्यालयको तर्फबाट पूर्व विव्यस अध्यक्ष खडग बहादुर केसीलाई सम्मान पत्रले सम्मान गरिएको हो । यस्तै कार्यक्रममा विद्यालयले लामो समय विद्यालयमा कार्यरत शिक्षक सेवा आयोग पास गरेर नाम निकाल्न सफल शिक्षक ललिता केसीलाई बिदाई गरिएको विद्यालयका प्रधानाध्यापक भुपाल साहुले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपाल साहुको स्वागत मन्तव्य मन्तव्यबाट शुरु भएको कार्यक्रममा मणीस्मृति फाण्डेशनको बारेमा पूर्व विव्यस अध्यक्ष शिबराज विकले जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुन, मणीस्मृति फाउण्डेशनका संस्थापक अध्यक्ष पुरभान पुन , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश भण्डारी लगायतले शैक्षिक सुधारमा मणीस्मृती फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षक मदन खड्काले गर्नुभएको हो ।
त्यस अवसरमा विद्यालयले सल्यान उद्योग वाणिज्य संघका नव निर्वाचित उद्योग उपाध्यक्ष पवन कार्की र सदस्य हरिबहादुर कार्कीलाई बधाई तथा स्वागत गरेको छ ।