२०८१ मङ्सिर २२ गते शनिवार

तुलसीपुर-७ को प्रशासनिक भवनको शिलान्यास

तुलसीपुर, १२ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन निर्माण हुन थालेको छ । अहिलेकै कार्यालय रहेको ठाउँ खर्चवामा निर्माण हुन लागेको प्रशासनिक भवनको बुधबार शिलान्यास गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का र वडा अध्यक्ष रामबहादुर जिसीले भवनको संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले दुई आर्थिक वर्षको बजेटबाट भवन निर्माण हुन लागेको बताउनुभयो ।

वडाको प्रशासनिक भवन १० कोठाको निर्माण हुने वडा अध्यक्ष रामबहादुर जिसीले बताउनुभयो । भ्याट बाहेक ५८ लाख लागतमा निर्माण हुन लागेको वडा भवन २०८२ साल माघ १७ गतेभित्र निर्माण सक्ने गरी कणर्ाली इन्फास्टकचर डेभ्लभमेन्ट सर्भिस प्रालिसंग सम्झौता भएको उहाँले बताउनुभयो ।

अध्यक्ष जिसीले निर्वाचित भएको करिब दुई वर्षपछि आफ्नै भवन निर्माणको शुरुवात गर्न थालेको बताउनुभयो । वडा कार्यालयको सेवा प्रवाह अहिले विद्यालयको भवनबाट संचालन भइरहेको छ । तर उक्त भवन पर्याप्त नहुँदा सेवा प्रवाहमा असहजता भइरहेको वडा सचिव राजु देवकोटाले बताउनुभयो ।

भवन शिलान्यास कार्यक्रममा निवर्तमान वडा अध्यक्ष टोपबहादुर केसीले आफ्नो कार्यकालमा वडाको भवन निर्माण गर्न नपाएपनि अहिलेको वडा कार्यालय रहेको स्थापनमा वडा कार्यालय सार्न सफल भएको बताउनुभयो । भवन शिलान्यास कार्यक्रमको सहजीकरण कर्मचारी सन्तोष केसीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस