२०८१ मङ्सिर २३ गते आइतवार

शिक्षक–कर्मचारीले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने मावि सौडियारको निर्णय

दाङ, २८ चैत । दाङको घोराही उपमहानरपालिका वडा नम्बर ७ सौडियार स्थित मावि सौडियारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्ने विद्यालयले निर्णय गरेको छ ।

शैक्षिक सत्र २०८१ देखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय विद्यालयले गरेको हो ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको मंगलबार भएको सामुहिक छलफलमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने निर्णय गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले शिक्षक र कर्मचारिकै छोराछोरी बाहिर निजि बिद्यालयमा पढ्न जादा विद्यालयको शैक्षिक अवस्थासहित गुणस्तरबारे नकारात्मक सन्देश बाहिर जाने भन्दै शिक्षक कर्मचारीका छोराछोरीले सरकारी विद्यालयमै पढाउनुपर्ने बताउनुभयो ।

शिक्षक, कर्मचारीसंगै विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभाबक संघका पदाधिकारीले पनि छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने बताउनुभयो ।

शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुवरले नयाँ शैक्षिक शत्रलाई विद्यालयको मुहार फेर्ने वर्षकारुपमा लिई सामुहिकरुपमा अघि बढ्नुपर्ने बताउनभयो ।

उहाँले आफ्नो छोरीलाई निजि बोर्डिङमा पढाउन सक्ने आफ्नो राम्रो आर्थिक अवस्था हुँदा हुँदै पनि विद्यालयको शैक्षिक अवस्था माथी उठाउन मावि सौडियारमा भर्ना गरेकोले अन्य व्यक्तिले पनि बिश्वास गरेर छोराछोरी दिने आधार तय गर्न भुमिका खेलेको चर्चा गर्नुभयो ।

विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलीले शिक्षक र कर्मचारीका छोराछोरीले सामुदायिक बिद्यालयमा पढाउदा सकारात्मक सन्देश प्रबाह हुने भन्दै यसलाई कार्यान्वयनमा लैजाने बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस