२०८१ फाल्गुन ६ गते मङ्गलवार

मावि तुलसीपुर सेन्टरमा पढाउने शिक्षकले छोराछोरीलाई नीजि विद्यालयमा पढाउन नपाउने


तुलसीपुर, २५ चैत । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरमा पढाउने शिक्षकले छोराछोरीलाई नीजि विद्यालयमा पढाउन नपाउने भएका छन् । विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरीलाई बालविकासदेखि कक्षा ९ सम्म अनिवार्य सोहि विद्यालयमै पढाउनुपर्ने भएको हो ।

विद्यालयले आगामी शैक्षिक सत्र २०८१ बाट लागु हुने गरी शिक्षकले छोराछोरीलाई निजि विद्यालयमा पढाउन नपाउने अर्थात सोहि विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो ।

प्रधानाध्यापक पौडेलले छोराछोरीलाई निजि विद्यालयमा नपढाउने शिक्षकले विद्यालयमा पढाउन नपाउने बताउनुभयो ।

सरकारी विद्यालयमा पढाउने शिक्षकले छोराछोरी निजि विद्यालयमा पढाउने परिपाटीको विकास भइरहेको हुँदा मावि तुलसीपुर सेन्टरले कर्मचारीका छोराछोरीले विद्यालयमा अनिवार्य पढ्नुपर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यस्तै विद्यालयका विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य यही विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिनुभयो ।

तुलसीपुर –६ मा रहेको विद्यालयले आगामी शैक्षिक सत्रदेखि एसईईमा शतप्रतिशत विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण गराउने रणनीतिका साथ अघि बढेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

आइतवार विद्यालयमा पत्रकार सम्मेलन गरी प्रधानाध्यापक पौडेलले विद्यालयमा यो वर्षदेखि मेघा परियोजना शुरु हुने र यही शैक्षिक सत्रदेखि अध्यापनमा साधारण, मध्यम र विशिष्टीकृत पद्धति अपनाइने जानकारी दिनुभयो ।

उहाँका अनुसार साधारणतर्फ नेपाली माध्यममा पढाई हुन्छ । मध्यममा अंग्रेजी माध्यममा पढाई हुन्छ भने विशिष्टीकृततर्फ सुविधासहितको अध्यापान गराइने छ ।

सरकारी विद्यालयले अभिभावक तथा विद्यार्थीको विश्वास गुमाउदै गएको अवस्थामा मावि तुलसीपुर सेन्टरले सुधारको प्रयास स्वरुप विभिन्न कार्यक्रम अघि बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस