
प्युठान, २० चैत । प्युठानका स्थानीय सरकारले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा संचालन गरेका छन् । जिल्लाका ९ वटा स्थानिय तहमध्ये गौमुखी र मल्लरानी गाउँपालिकामा आयोगको तयारी कक्षा सम्पन्न भईसक्दा माण्डवीमा कक्षा सञ्चालन गरिएको छ । यस्तै,प्युठान नगरपालिकाले भने आवेदन माग गरेर कक्षा संचालनको तयारी थालेको छ ।
दुई महिने कार्यक्रम बनाएर खरिदार र नायव सुब्बाको पाठ्यक्रममा आधारित तयारी कक्षा चलाईएको पालिकाहरुले जनाएका छन् । शैक्षिक योग्यता पुगेर पनि बेरोजगार बसेका युवालाई सरकारी सेवामा प्रवेश गराउन निःशुल्क कक्षा संचालन गरिएको गौमुखीका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम पौडेलले बताउनुभयो ।
युवालाई विदेशिन रोक्ने र स्वदेशमै जागीरमा लाग्न उत्प्रेरणा जगाउन यस्तो कार्यक्रम ल्याईएको उहाँले बताउनुभयो । यसमा स्थानीय दलित, महिला र आर्थिकरुपमा विपन्नतालाई प्राथमिकतामा राखिएको छ ।
पालिकाभित्रका योग्यता पुगेका युवाहरुलाई शिक्षक र निजामती सेवामा आकर्षित गर्नका लागि गाउँपालिकाले आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरेको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो ।
पालिकाकै दक्ष जनशक्ति भए यहाँको विकास निर्माण, सुशासन र सेवा प्रवाहमा सहयोग पुग्ने अध्यक्ष अधिकारीको अपेक्षा छ । सरकारी सेवामा प्रवेश एवं पहुँच न्यून रहेको यस क्षेत्रमा यो कार्यक्रम प्रभावकारी हुने स्थानीयको भनाइ छ ।