तुलसीपुर, १९ चैत । विकासका लागि बनेको तुलसीपुर विकास प्राधिकरणलाई लक्ष्य भेटाउनै सकस परेको छ । प्राधिकरणले एक वर्षको लक्ष्य चार वर्षमा पनि पुरा गर्न सकेको छैन् । विकास प्राधिकरणमार्फत सडक कालोपत्रे गर्ने आशामा रहेका नागरिकले विकास नपाउँदा निराश छन् ।
तुलसीपुर-४ गहतेराका घनबहादुर पुनले प्राधिकरणमार्फत हुने चारबाटो चोकदेखि बनहरीको एक्ले सालसम्म कालोपत्रे बाटो निर्माणको काम अझै पुरा हुन नसकेको बताउनुभयो ।
यो सडकखण्डमा पर्ने खोलामा कल्भर्ट निर्माणको काम र कालोपत्रे गर्नका लागि बेस बिछ्याउने काम पनि भएपनि हालसम्म सडक कालोपत्रे हुन भने सकेको छैन् । तुलसीपुर-११ को नवलपुरदेखि प्रिगाउँसम्मका नागरिकहरु पनि तीन वर्ष पहिल्यै हुनुपर्ने कालोपत्रे सडक अहिलेसम्म पाउन सकेका छैनन् । वडाध्यक्ष मानबहादुर रावतले सडक कालोपत्रेबारे नागरिकले प्रश्न सोध्दा आफुले जवाफ दिन नसकेको बताउनुभयो ।
तुलसीपुर विकास प्राधिकरणमार्फत २०७७/०७८ मा ठेक्का दिइएका छवटा ठेक्काका करिब एकदर्जन सडक अहिलेसम्म अलपत्र छन् । जसमध्ये तुलसीपुर-१० का गौरीगाउँदेखि चैलाही र गलौरी चौधरी टोल रोड, वडा नं. १२ का लामिडाँडा दामोदर रोडदेखि कचिला, कौवापुरदेखि हरिपौरी, रझेनादेखि पड्ढा रोड, वडा नं. १३ का राप्ती राजमार्गदेखि पनालीबोट र बखरियादेखि झरना सामुदायिक वन रोड, त्यस्तै वडा नं. १९ को बाँसगढी चोकदेखि स्यालापानी रोडमा पनि बेस बिछ्याइएको सडक अलपत्र छन् । आजको नयाँ युगबोध दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।