
दाङ, १५ चैत । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ ।
यसवर्ष दाङबाट १२ हजार बढीले परिक्षा दिन लागेका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार दाङबाट यसवर्ष एसइईमा दाङबाट १२ हजार आठ सय ९८ विद्यार्थी सहभागी भएका हुन् । जिल्लामा गतवर्ष १३ हजार चार सय ५२ जनाले परीक्षा दिएका थिए ।
देशभरबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । उनीहरुले पुनः मौका परीक्षा दिनुपर्ने छ ।
विगतका वर्षमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याए पुग्ने प्रावधान थियो । परीक्षा चैत २७ गतेसम्म चल्नेछ ।