दाङ, १४ चैत । दाङमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक लमही नगरपालिका १ सुनडबरीका ४८ वर्षिय गिर बहादुर कुमाल , राजपुर गाउँपालिका ७ सिक्टाका ६४ वर्षिय धन बहादुर कुमाल र उहाँको श्रीमती ६३ वर्षिय तोला कुमारी कुमाल घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
धनबहादुरको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरी निरिक्षक मल्लले बताउनुभयो ।
अन्य दुई जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट अमीलियातर्फ जाँदै गरेको रा १ ह ५५०२ नम्बरको अटो लमही नगरपालिका-९ अम्रईखोलास्थित आफै अनियन्त्रीत भएर दुर्घटना भएको हो । अटो सडकदेखि अन्दाजी १६० मिटर तल खसेको थियो ।
यस्तै तुलसीपुरबाट दोघरेतर्फ जाँदै गरेको रा ४ प ८५०५ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको रा १ ह २६४९ नम्बर अटो एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर-३ का १३ वर्षिय बालक चित्र बहादुर पुन र मोटरसाइकल चालक १७ वर्षिय प्रकाश पुन रहेको प्रहरीले जनाएको छ । घाइते चित्र बहादुरलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको छ ।
मोटरसाइकल चालकको सामान्य उपचारपछि डिस्र्चाज गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।