
दाङ, १४ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ हलवार स्वास्थ्य संस्थामा बितेको २० महिनामा ६५ जनाले सुत्केरी सेवा लिएका छन् ।
स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भएको डेढ वर्ष भएको छ । यो डेढ वर्षको अवधिमा सुत्केरी हुनेहरुको संङख्या पनि बढेको स्वास्थ्य संस्थाले जनाएको हो ।
स्वास्थ्यसंस्थामा बर्थिङ सेन्टर नहुँदा स्थानियहरु घोराही, तुलसीपुर सम्म पुग्नुपर्ने बाध्यता रहेको थियोे । अहिले नजिकैको स्वास्थ्य संस्थामा सुत्केरी सेवा उपलब्ध भएपछि स्थानिय खुसी भएका छन् । नर्मल डेलिभरी स्वास्थ्य संस्थामा हुने भएपछि स्थानियलाई सहज भएको हो ।
स्वास्थ्य संस्थाबाट चालु वर्षको फागुनसम्म स्वास्थ्य संस्थामा आएर ६४ जनाले गर्भ जाँच गराएका छन् । जसमध्ये २० वर्ष मुनिको ८ जनाले गर्भ जाँच गराएका छन् । सिनियर अनमी कोकिला गैरेका अनुसार २० वर्ष भन्दा माथीका ५४ जनाले गर्भजाँच गराएका छन् । यस्तै गत आर्थिक वर्ष २०७९/८० मा १ सय २४ जनाले गर्भजाँच गराएका थिए । त्यसमध्ये २२ जना २० वर्ष मुनिका रहेका थिए । २० वर्ष भन्दा माथीका १ सय २ जनाले गर्भ जाँच गराएको स्वास्थ्य संस्थाले जनाएको छ ।
फागुन सम्म १९ जनाले सुत्केरी सेवा लिएको स्वास्थ्य संस्थाले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ४६ जनाले सुत्केरी सेवा लिएको स्वास्थ्य संस्थाका सिनियर अनमी गैरेले जानकारी दिनुभयो ।
कानुनले २० वर्षमुनिको विवाहलाई मान्यता नदिएपनि स्वास्थ्य सस्थामा गर्भजाँच गराउने र सुत्केरी सेवा लिनेमा २० वर्ष मुनिका किशोरी पनि देखिएको छ । सुत्केरी सेवा लिनेमा १७ र १८ वर्षका धेरै रहेको तथ्याङकले देखाएको छ ।
उमेर नपुगी सुत्केरी हुँदा आमा र बच्चामा विभिन्न समस्या देखिने गरेको गैरेले बताउनुभयो ।