दाङ, १० चैत । दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर राप्ती गाउँपालिका—३ तल्लो मसुरियाका ६० वर्षिया गोरख बहादुर केसी, उहाँको श्रीमती ५५ वर्षीय दिलसरा केसी र ४ वर्षीय नाती कृष्ण केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेका दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्वल बहादुर सिंहले जानकारी दिनुभयो ।
करेन्ट लागेर गम्भिर घाइते भएका गोरखबहादुरको उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
तीनै जनालाई राप्ती गाउँपालिका—३, तल्लो मसुरिया चोकमा शनिबार दिउँसो करिब २ बजेको समयमा विद्युतको हाइटेन्सन तार चुडिएर करेन्ट लागेको हो । घरकै आँगनमा रहेका तीन जनालाई अचानक माथिबाट खसेको बिजुलीको तारले लाग्दा करेन्ट लागेको हो ।