दाङ, ३ चैत । रक्तदान गर्नेको संख्या बढ्न नसक्दा रगतको मागलाई धान्न हम्मे हम्मे छ । रगत माग सहज नहुँदा बिरामीको ज्यानसमेत जोखिममा गरेको अवस्थामा तुलसीपुरमा युवाहरुले रक्तदानको अभियान थालेका छन् ।
एचआर मिडिया हावसका अध्यक्ष एचआर मगरले रगतको मागलाई सहज बनाउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । ‘रक्तदान गर्नेहरुको दाताहरुको संख्या स्वफूर्तरुपमा बढ्न सकेको छैन् ।’ उहाँले भन्नुभयो-‘रगतको मागलाई सहज बनाउन हामी कार्यक्रमको आयोजना गरेका हौँ ।’
रगत दान गर्दा अहिले पनि कमजोर भइन्छ भन्ने मानसिकता छ । १३ पटकसम्म रगतको दान गरिसक्नुभएका युवा युथ अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले रगत दान गर्दा झन् फुर्तिलो र स्वस्थ भइने बताउनुभयो । उहाँले शनिबार १३ औँ पटक रक्तदान गर्नुभएको हो ।
सामाजिक संघसंस्थाले विभिन्न समयमा आयोजना गर्ने रक्तदान कार्यक्रमबाटै रगतको माग धानिएको छ । शनिबार पहिलो पटक रक्तदान गरेकी रुकुम पश्चिमको मुसिकोट नगरपालिका ६ घर भएर तुलसीपुरमा बस्दै आएकी सपना केसी रक्तदान गर्दा रगत घट्नुको साटो झन् नयाँ रगत उत्पादन हुने बताउनुभयो ।
तुलसीपुरमा प्रतिमहिना १५० युनिट रगतको आवश्यक हुने गरेको छ । तर गत फागुन महिनामा करिब १३० युनिटमात्रै रगत संकलन भएको थियो । रगत स्टक नहुँदा रक्तदाता गुहार्नुपर्ने बाध्यता छ । मृगौला डायलाइसीस गर्नेहरु बढ्दै जाँदा रगतको माग पनि बढ्न थालेको रक्तसंचार केन्द्र तुलसीपुरका इन्चार्ज नरेश चौधरीले बताउनुभयो ।
उहाँले सबैभन्दा बढी बि पोजिटिभ रगतको माग बढी आउने गरेको बताउनुभयो । शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले शनिबार पहिलोपटक रगत दान गर्नुभयो । गाउँपालिका अध्यक्षले रक्तदान गरेपछि युवाहरु पनि रक्तदान गर्न हौसिएका थिए । तुलसीपुरमा रहेको रक्तसंचार केन्द्रलाई पालिकाले आवश्यक बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो ।