दाङ, २ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हलवार स्वास्थ्य चौकीमा ‘बेवी वार्मर’ प्रभावकारी बन्दै गएको छ ।
नवजात शिशुलाई जन्मेपछि चिसोबाट बचाउनका लागि ‘बेवी वार्मर’को प्रयोग गर्ने गरिएको स्वास्थ्य चौकीका सिनीयर अहेव कोकीला गैरेले जानकारी दिनुभयो ।
उहाँले बच्चा जन्मने बित्तिकै चिसोबाट बचाउनका लागि बच्चालाई आमाको छातिमा नै बढी प्रभावकारी हुने भएपनि कतिपय आमासंग त्यस समयमा पर्याप्त कपडा नहुने भएकाले ‘बेवी वार्मर’को प्रयोग प्रभावकारी हुने बताउनुभयो । बेवी वार्मर चिसो समयमा बढी प्रयोग हुने उहाँले बताउनुभयो ।
नवजात शिशुलाई बाहिरी वातावरण ३७ डिग्री सेन्टीग्रेट तापक्रम सामान्य मानिन्छ । तर ३५ दशमलव ५ डिग्री सेन्टीग्रेट भन्दा कम भएमा बच्चालाई चिसोका कारण विभिन्न संक्रमण (शितांग) हुने र बच्चाको मृत्यु समेत हुन सक्ने भएकाले ‘बेवी वार्मर’को प्रयोग गरिने जनस्वास्थ्य निरिक्षक डम्बर बिष्टले जानकारी दिनुभयो ।
स्वास्थ्य चौकीमा गतवर्ष ४६ र चालुवर्षको फागुनसम्ममा १९ जना बच्चा जन्मिएको उहाँले बताउनुभयो । ‘बेवी वार्मर’ गतवर्ष तुलसीपुर-४ बनहरी निवासी हाल बेलायतमा बस्दै आउनुभएका मानबहादुर थापाले सहयोग गर्नुभएको हो । यस्तै यसवर्ष पनि उहाँले फोहोर टिप्न प्रयोग गरिने स्टिक पनि सहयोग गरेको जनस्वास्थ्य निरिक्षक बिष्टले बताउनुभयो ।