
दाङ, ३० फागुन । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको रात्रिबस दुर्घटना भएको छ ।
मंगलबार गएराती पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका कालाकाटेमा बस दुर्घटना भएको हो ।
तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्रदेश ०३-०१-००६ख-०९७४ नम्बरको रात्रि बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गढवाका अनुसार घाइतेको अवस्था सामान्य छ । उनीहरुको भालुवाङमा उपचार भइरहेको छ । बसमा सवार अन्य यात्रुहरु सकुशल छन् ।
घाईते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २१ की आस्था पौडेलको दुबै हात, छाती र टाउकोमा चोट लागेको छ ।
त्यसैगरी बसमा सवार तुलसीपुरकै वर्ष २२ का बाबुराम लामीछानेको दुवै हात र दुबै खुट्टामा चोट लागेको छ ।
बसमा सवार लमही नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४८ का बबिता शाहीको ढाडमा चोट लागेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो ।
तीव्र गतिका कारण बस सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसको टाईरेटगोली फुत्किदा बस अनियन्त्रित भई सडकभन्दा ५ मिटर दायाँ गई सालको रुखमा ठोकिदा दुर्घटना भएको प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो ।