दाङ, २० फागुन । दाङमा ट्रकले मोटसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-अमीलिया सडकखण्डको तुलसीपुर-१२ मा आइतबार बिहान सवा ११ बजेतिर ट्रक र मोटरसाईकल एकआपसमा ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाईकल चालक बाँके नेपालगंज उपमहानगरपालिका १ साईगाँउका अन्दाजी ३४ वर्षका सुरेशचन्द्र पाठकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते पाठकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
मल्लका अनुसार पाठकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको बाग्मती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले नेपालगंजबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रक चालक नवलपरासी बिनय त्रिवेणी गाउँपालिका ५ का ३३ वर्षीय नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक मल्लले ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।