दाङ, १८ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भ्यूडहर सुनपुरमा रहेको बिरेन्द्र माध्यमिक विद्यालयले शुक्रबार ६३ औँ वार्षिकोत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लु प्रसाद न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास गुम्दै गएको अवस्थामा बिरेन्द्र माविले शैक्षिक सुधार ल्याउँदा विश्वास बढ्दै गएको बताउनुभयो ।
यस्तै तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, शिक्षा शाखा प्रमुख चक्र भण्डारी, तुलसीपुर-१ का अध्यक्ष हुमकान्त सापकोटा, २ का अध्यक्ष भिम बहादुर योगी, ३ का अध्यक्ष बिरबहादुर विक लगायतले शिक्षाको सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका सशक्त बन्नुपर्ने बताउनुभयो ।
त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक टोपबहादुर घर्तीले विद्यालयको शैक्षिक एवं भौतिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने आगामी योजना समेत प्रस्तुत गर्नुभएको हो ।
शिक्षक फष्ट बहादुर रानाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक डा. जीतबहादुर गिरीले गर्नुभएको हो ।
यसैबिच विद्यालयका शिक्षक प्रशान्त पराजुलीले आफ्ना स्वर्गिय बुवा तथा ठुलि आमाको नाममा ५० हजारको अक्षयकोषको स्थापनाको घोषणा गर्नुभएको छ ।
अक्षयकोष स्थापनाको घोषणा गर्ने शिक्षक पराजुलिप्रति विद्यालयले धन्यवाद तथा अभार प्रकट गरेको छ । वार्षिकोत्सव कार्यक्रममा विभिन्न विज्ञान तथा कला प्रदर्शनी गरिएको थियो भने विभिन्न भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिएको छ ।