२०८१ माघ २ गते बुधवार

तुलसीपुरमा दादुरा-रुवेला विरुद्धको खोप अभियान फागुन २२ गतेदेखि संचालन हुने

तुलसीपुर, १७ फागुन । तुलसीपुरमा ६० हजार बढी बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले तुलसीपुर उपमहानगरका १९ वटै वडाका ६० हजार ६६४ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको बताउनुभयो ।

उहाँका अनुसार गतवर्ष ५६ हजार ७४४ जनालाई खोप लगाइएकोमा यसवर्ष थप चार हजार बढीलाई खोप लगाउन लागिएको छ । यसअघि खोप लगाएका बालबालिकाले पनि अनिवार्य खोप लगाउनुपर्ने उहाँले बताउनुभयो ।

खोप लगाउँदा बालबालिकाले १३ प्रकारका रोगसंग लड्ने क्षमताको विकास हुने उहाँले बताउनुभयो । उपमहानगरका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिका सबैले खोप लगाउनुपर्ने भएकाले खोप अभियानमा सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ ।

उहाँले दादूरा रुबेला रोगको संक्रमण कोरोना भन्दा पनि बढी भएकाले लक्षित उमेर समुहका बालबालिकालाई खोप अनिवार्य लगाउनुपर्ने बताउनुभयो ।

तुलसीपुरमा अभियान फागुन २२ गतेदेखि चैत ४ गतेसम्म संचालन हुने उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका सबै विद्यालय नै खोप केन्द्र हुनेछन् भने ५३४ जना स्वयंसेवक र १२९ जना स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् ।

खोप अभियानबारे जानकारी दिन बिहिबार पत्रकार तथा सरोकारवालासंग भेटघाट कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख ओम पि न्यौपानेले खोप अभियानमा बालबालिकालाई सहभागी गराउन सबैमा आग्रह गर्नुभएको छ ।

सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम गरिएको हो । नगरप्रमुख खड्काले वडास्तरबाटै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

बालरोग विषेशज्ञ डा.किशोर खत्रीले खोपले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमतामा विकास गर्ने भएकाले खोप अनिवार्य लगाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस