२०८१ माघ ६ गते आइतवार

विद्यार्थीसंगै अभिभावकलाई पनि असल संस्कार सिकाउँदै डिभाइन टेम्पल

दाङ, १५ फागुन । लेखा भण्डारी पेशाले निजामति कर्मचारी हुनुहुन्छ । तुलसीपुर-९ बेलुवा निवासी भण्डारीले डिभाईन टेम्पल एकाडेमीमा छोरालाई पढाउनुहुन्छ । सोमबार उहाँ विद्यालयले आयोजना गरेको असल अभिभावक सेमिनारमा सहभागी हुनुभयो ।

बालबालिकालाई असल संस्कारी बनाउन बुवाआमाको प्रमुख भूमिका हुन्छ भन्ने उहाँलाई थाहा त थियो तर व्यवहारिक रुपमा कार्यान्वयन कठिन थियो । उहाँले असल अभिभावक सेमिनारबाट धेरै कुरा जान्ने मौका पाएको बताउनुभयो ।

‘धेरै कुरा व्यवहारिक लाग्यो ।’ उहाँले भन्नुभयो-‘बालबालिकालाई असल बनाउन अभिभावकको भूमिका विषयमा धेरै कुरा जान्ने मौका पाएँ ।’ असल अभिभावकत्व सम्बन्धिको तालिम भने यो नै पहिलो भएको उहाँले बताउनुभयो ।

सुर्खेतका धन बहादुर वली कामको शिलशिलामा दाङमा बस्दै आउनुभएको छ । उमेरले ६० वर्ष पुग्न लाग्नुभएका उहाँले छोरीको छोरा (नाति) लाई डिभाइनमा पढाउनुहुन्छ । उहाँलाई पनि नातीलाई असल बनाउन निरन्तर लागिरहनुभएको छ ।

विद्यालयले सोमबार साँझ तुलसीपुरमा आयोजना गरेको असल अभिभावकत्व सेमिनारमा वलीले धेरै कुरा जान्ने मौका पाउनुभयो ।

‘हामीले बालबालिकालाई धेरै कुरा समय दिनुपर्ने रहेछ ।’ उहाँले भन्नुभयो-‘बालबालिकालाई सानो सानो काम पनि गराउन सके भविष्यमा राम्रो फाइदा पुग्दो रहेछ ।’

यस्ता सेमिनारहरु समय-समयमा अभिभावकहरुलाई प्रदान गर्दा विद्यालय,अभिभावक र शिक्षकहरु बिचको सम्बन्ध थप मजवुत हुने उहाँको बुझाई छ ।

तुलसीपुरमा रहेको डिभाइन टेम्पल एकेडेमीले हरेक वर्ष अभिभावकहरुका लागि उत्प्रेरणामूलक तालिमहरु सञ्चालन गर्दे आएको डिभाईन एजुकेशन फाउन्डेशनका सिईओ भोजराज न्यौपानेले बताउनुभयो ।

संस्कार, ईमान्दारीता र अनुशासनलाई विद्यालयले प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो ।

विद्यालयले यस अघि विद्यार्थीहरुका लागि समेत असल विद्यार्थी सेमिनार संचालन गरेको उहाँले बताउनुभयो । सोमबार करिब पाँच सय बढी अभिभावकहरुलाई असल अभिभावकत्व ग्रहण र व्यवहार परिवर्तनका लागि मोटिभेसनल प्रशिक्षक क्षेत्रप्रताप ज्ञवालीले प्रशिक्षण गर्दा सबै अभिभावक भावुक देखिएका थिए ।

घरको मूल संस्कार सुधारेमा मात्रै समाज र राष्ट्र सुधार्न सकिने उहाँको भनाई छ । ‘हामिलाई संस्कारयुक्त सन्तान र समाज चाहिएको छ ।’ उहाँले भन्नुभयो-‘तर हामीले पढाउने विद्यालयमा समय नै दिन सकेका हुँदैन्, यहि नै ठुलो कमजोरी हो ।’

जंक फुडको प्रयोग,प्रबिधिको दुरुपयोग,अभिभावकत्व ग्रहण गर्न नसक्नु लगाएतका कारण पछिल्लो समय बालबालिकामा नकारात्मकताका लक्षणहरु बढि देखापर्न थालेको अधिकारीले बताउनुभयो ।

ग्लोबल स्कुल डेभलपमेन्ट नेपालका सिइओ समेत रहनुभएका उहाँले विगत १० वर्षदेखि विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तरगत उत्प्रेरणामुलक तालिमहरु दिदै आउनुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस