२०८१ माघ २ गते बुधवार

दाङसहित २४ जिल्लामा आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप लगाइदै

दाङ, १३ फागुन । दाङसहित २४ जिल्लामा आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान संचालन हुन लागेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

दाङमा एक लाख ७१ हजार छ सय ३४ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार २१ दिन भित्रसकिने गरी नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ७१ हजार छ सय ३४ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइने भएको हो ।

नौ महिनादेखि पाँच वर्षमुनिका ४९ हजार तीन सय आठ र पाँच वर्षदेखि १५ वर्षसम्मका एक लाख २२ हजार तीन सय २६ जना बालबालिका गरी जम्मा एक लाख ७१ हजार छ सय ३४ जना बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउने तयारी गरेको प्रमुख शाहीले जानकारी दिनुभयो ।

त्यस्तै सात सय पाँच वटा खोप केन्द्रबाट बालबालिकालाई खोप प्रदान गरिने छ । दाङमा दुई चरणमा विभाजन गरेर अभियान संचालन हुने प्रमुख शाहीले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा जिल्लाका १० स्थानीय तह मध्य घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा आजदेखि २१ गतेसम्म अभियान सञ्चालन हुनेछ ।

यस्तै दोस्रो चरणमा फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकामा अभियान सञ्चालन हुनेछ ।

गर्भवती, एड्स सङ्क्रमित, केमोथेरापी वा उच्च डोजको औषधि सेवन गरिरहेका र कडा खालको ज्वरो भएका बालबालिकालाई भने यो खोप लगाउन नमिल्ने प्रमुख शाहीले बताउनुभयो । २५० जनाभन्दा बढी बालबालिका भएका संस्थागत र सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको आधारमा खोप केन्द्र रहेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस