तुलसीपुर, १० फागुन । छारे रोगका कारण अचानक बेहोस् भएपछि मोजा , जुत्ता सुघाउने प्रचलन छ । तर जुन एकदमै गलत हो । अहिलेसम्म अधिकांश ठाउँमा ज्ञानको अभाव हुँदा छारे रोगको समस्या भएका व्यक्ति अचानक बेहोस भएपछि मोजा सुँघाउने प्रचलन गलत भएको योगदान राष्ट्रका लागिका केन्द्रीय अध्यक्ष ओम उप्रेतीले बताउनुभयो ।
‘छारे रोग लागेका व्यक्ति बेहोस भएपछि ५/६ मिनेट भएपछि आफै ठिक हुन्छ ।’ उहाँले भन्नुभयो-‘तर हाम्रो सोचाई मोजाले ठिक भएको हो भन्ने छ ।’ यस्तै अरु समस्याबाट अचानक बेहोस भएपछि जतिसक्दो छिटो होसमा ल्याउन उसको खट्टा उठाईदिनुपर्ने बताउनुभयो ।
‘कुनै व्यक्ति अचानक बेहोस भएपछि उसलाई जतिसक्दो छिटो होसमा ल्याउनुपर्छ, नत्र भने रगत जम्यो भने मृत्यु हुन सक्छ ।’ उहाँले भन्नुभयो-‘होसमा ल्याउनका लागि पछिबाट खुट्टा उठाउनुपर्छ , यदि यसो गर्दा १/२ मिनेटमा होस आएन भने जतिसक्दो छिटो अस्पताल लैजानुपर्छ ।’
उप्रती यस्तै प्राथमिक उपचारको अभियानमा देश दौडाहमा रहनुभएको छ । बिहिबार तुलसीपुरमा करिब १ सय जनालाई उहाँले प्राथमिक उपचारबारे प्रशिक्षण दिनुभएको छ ।
दुर्घटनामा घाईतेको उद्धार गर्दा अपनाउनुपर्ने उपाय, जटिलता, छारे रोगको प्राथमिक उपचार, पे्रसरले हानेको बिरामीको प्राथमिक उपचार लगायतका बारेमा उहाँले प्रशिक्षण दिनुभएको हो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले प्राथमिक उपचारको ज्ञान भएमा धेरै मानिसको ज्यान बचाउन सकिने बताउनुभयो ।
रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष पवन योगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले गर्नुभएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओम पि न्यौपानेले प्राथमिक उपचारको ज्ञान विद्यालयमा लैजानुपर्ने बताउनुभयो । योगदान राष्ट्रका लागिका केन्द्रीय सल्लाहकार यज्ञ केसीले यो किसिमको अभियान देशव्यापीरुपमा लगिएको बताउनुभयो ।