२०८१ बैशाख ११ गते मङ्गलवार

मेट्रो अस्पतालमा आम्दानीभन्दा खर्च सात गुणा बढी !

दाङ, १० फागुन । तुलसीपुरको भिमसेन मेट्रो अस्पतालमा उपचार सेवा लिने बिरामीको संख्या अत्यन्त न्यून रहेको छ ।

कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाले २०७८ वैशाख २७ गतेदेखि १५ शैयाको अस्पताल सञ्चालनमा ल्याएपनि पछिल्लो समय अस्पतालमा बिरामी उपचार सेवा लिन जाने गरेका छैनन् ।

तुलसीपुर उपमहानगरपालिकाको १४ औं नगरसभामा लेखा समितिले पेश गरेको प्रतिवेदनमा दैनिक करिब पाँच देखि सातजनाले सेवा लिने गरेको उल्लेख गरिएको छ ।

तर हस्पिटलमा कार्यरत कर्मचारी भने ३२ जना छन् । लेखा समितिको प्रतिवेदनअनुसार अस्पतालले आव २०७९/०८० मा नौ लाख चार हजार दुई सय २३ रुपैयाँ आम्दानी गरेको छ भने सोही आवमा त्यहाँ कार्यरत कर्मचारीको तलब भत्तामा करिब ७० लाख रुपैयाँ खर्च भएको छ ।

अस्पतालको आम्दानीबाटै तलब भत्ता व्यवस्थापन गर्न सक्नेगरी सञ्चालनमा ल्याउनुपर्ने लेखा समितिका संयोजक तथा तुलसीपुर-९ का अध्यक्ष घनश्याम ढकालले बताउनुभयोे ।

अस्पतालमा सर्जन डाक्टरसहित एक्सरे, भिडियो एक्सरे, ल्याब, २४ घण्टा सुत्केरी सेवा, ओपिडी र इमरजेन्सी सेवा सञ्चालित छन् । मेट्रो अस्पतालको तुलनामा पनि न्यून शुल्क हुँदा पनि बिरामी नआएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत विमल केसीले जानकारी दिनुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस