दाङ, ९ फागुन । नेत्रलाल भण्डारी र विवेक भनेर चिनिने बालकृष्ण पुनकोे घर रोल्पाको त्रिवेणी गाँउपालिका वडा नं ५ गुइतिवाङमा हो । तर विवेक तीन दिन अघि बसाईरसराई गरेर नेत्रलाल भण्डारीको परिवार सहित दाङ आएको थियो । भने विवेक दिदि सहित तुलसीपुरमा ठुलोबुवाको घरमा डेरा लिएर बस्नुभएको थियो ।
नेत्रलालका आफन्त हिमकर डाँगीका अनुसार भण्डारीकोे परिवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मजगाँउमा बसाईसराई गरेर आएको हो । भण्डारीले रोल्पाकै सामुदायीक विद्यालयमा पढाउनुहुन्थ्यो ।
वि.सं २०८० साल बैशाख २४ देखी रुण्टीगढी गाउँपालिका-१ राङजातको नेपाल राष्ट्रिय मावि रिठाबोटमा प्राथमिक तहमा राहात दरवन्दीमा कार्यरत उहाँ करार शिक्षक हुनुहुन्थ्यो ।
उहाँ बुधवार सोही विद्यालयमा हाजिर हुन रोल्पा जानुपर्ने भयो । घोराहीबाट शहिदमार्गको बाटो समयमै पार गर्नुपर्ने थियो । घोराहीमा समयमै गाडी नभेटे विद्यालय पुग्न ढिला हुने थियो । त्यसैले मोटरसाईकल चढेर घोराहीसम्म जाँदा रोल्पा जाने गाडी समयमै भेटिने आशले ठुलीआमाको छोरा भाई विवेकलाई घोराही सम्म छोड्दिन उहाँले आग्रह गर्नुभएको थियो ।
त्यसपछि विवेक मोटरसाइकल लिएर दाई नेत्रलाई घोराही सम्म छोड्न हिड्नुभयो । तर घोराही नपुग्दै सर्रा चोकमा मोटरसाईकललाई बोलेरो जिपले ठककर दिदा दुर्घटनामा दुबैजनाको निधन भयो ।
अध्यारोबाट उज्यालो तर्फ डोर्याउने गुरु अध्याँरोमै सदाका लागी अस्ताए । नेत्रको निधनले विद्यालयले एक असल शिक्षक गुमायो । दाजुभाईको निधनले दुईवटै परिवारको सहारा खोसियो अनि समाजले दुई मेहनती युवा गुमायो ।
नेत्रको परिवारमा उहाँको तीन वर्षकी छोरी सहित श्रीमती,आमा,दाजु र भाउजु हुनुहुन्छ ।उहाँ परिवारका कान्छा छोरा हुनुहन्थ्यो । दाजु नेपाल प्रहरीमा र भाउजु शिक्षक रहेको उहाँका आफन्त हिमकर डाँगीले बताउनुभयो ।
मोटरसाईकल भाई विवेकले चलाउनुभएको थियो भने दाई नेत्र पछाडी सवार हुनुन्थ्यो । विवेक र नेत्र दुई बहिनीका छोरा दाजुभाई हुनुहुन्छ ।
विवेक तुलसीपुरमा जागीर संगै व्यवसाय पनि गर्दे आउनुभएको थियो । उहाँको केहि समय पहिले बैदेशिक रोजगारीका लागी कोरीया जाने तयारी थियो । भाषा परिक्षा समेत दिनुभयो तर सफलता मिलेन । त्यसपछि नेपालमै सम्भावनाको खोजी गरिरहनुभएको थियो ।
राप्ती बबई क्याम्पसबाट १२ कक्षा उतिणर् गरेका उहाँ तुलसीपुर-५ को नयाँ बसपार्कमा रहेको आफ्नै मामा यमराज केसीले सञ्चालन गरेको किराना व्यवसाय गौतम सप्लायर्समा भ्याटको काम गर्नुहुन्थ्यो ।
मामा केसीका अनुसार भान्जा विवेकले केहि समय अघि एउटा अटो पनि किन्नुभएको थियो । अटोका लागी एक जना चालकको व्यवस्था गरेर किराना सामाग्री होलसेलमा व्यापार शुरु गर्नुभएको थियो । तर यो व्यवसाय सञ्चालन गरेको भने धेरै लामो समय नभएको केसीले बताउनुभयो ।
विवेक घरको एक्लो छोरा हुनुहुन्थ्यो । बुवा आमा सहित उहाँका दुई दिदिबहीनी छन् । उहाँको विवाह भएको थिएन ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल बुधवार विहान घोराही- १६ सरौ चोकमा दुर्घटना भयो ।
दुर्घटनामा परी दुई दाजुभाईको मृत्यु भयो । दुर्घटनामा २१ बर्षीय भाई विवेक पुन र २४ वर्षिय दाजु नेत्र भण्डारीको मृत्यु भयोे । पढाउन हिडेका दाजु भण्डारी विद्यालय पुग्न पाउनुभएन भने उहाँलाई छोड्न जानुभएका भाई बिजय तुलसीपुर फर्कन पाउनु भएन ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाईकल विपरित दिशाबाट आँउदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअपसंग घोराही-१६ सर्रा चोकमा बुधवार विहान ठोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जाकारी दिनुभयो ।
बोलेरो पिकअप र चालक रोल्पाको त्रिवेणी-२ का २९ वर्षिय निर्मल बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।