२०८१ मङ्सिर २३ गते आइतवार

रोल्पामा पढाउनका लागि बिहानै तुलसीपुरबाट भाईको मोटसाइकलमा जाँदै थिए भण्डारी

दाङ, ९ फागुन । बुधबार बिहानै दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवकको मृत्यु भयो । दुर्घटनामा परी रोल्पाको त्रिबेणी गाउँपालिका – ५ का २१ बर्षीय बिजय पुन र सोही ठाउँका २४ वर्षिय नेत्र भण्डारीको मृत्यु भयो ।

पुनले मोटरसाइकल चलाएको मोटरसाईकलमा भण्डारी पछाडि सवार रहनुभएको थियो ।

मृतक दुवै जना दुई दिदीबहिनीका छोरा दुईभाई रहेको आफन्त हिमकर डाँगीले बताउनुभयो । ‘दुइ भाई दुईं दिदीबहिनीको छोरा हुनुहुन्छ ।’ उहाँले भन्नुभयो-‘कस्तो दुखद घट्ना घट्यो ।’

मृतक भण्डारीको परिवार तीन दिनअघि मात्रै रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ गुइतीबाङबाट दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ को मजगाउँमा बसाई सरेर आएको थियो ।

उहाँ रुण्टीगढी गाउँपालिका-१ मा रहेको नेपाल राष्ट्रिय मावि रिठाबोटमा प्रावि तहको राहत कोटामा कार्यरत रहनुभएको थियो । बुधबार विद्यालयमा जानुपर्ने थियो ।

विद्यालयमा जान घोराहीबाट गाडी चढ्नुपर्ने थियो । घोराहीबाट गाडी चढ्नका लागि बिहानै ठुली आमाको छोरा भाइ बिजयलाई मोटरसाइकलमा घोराहीसम्म छोड्न लगाउनुभएको थियो ।

मृतक भण्डारीको तीन वर्षको एउटा सानो छोरी छन् । बुवाको सानैमा निधन भएको थियो । मृतक पुन भने तुलसीपुरमा व्यवसाय गरिरहनुभएको थियो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका – १६ सर्रा चोकमा विपरित दिशाबाट आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअप संग ठोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

यसअघि डिएसपी मल्लले मोटरसाइकल साइकलसंग अल्झेको अवस्थामा फेला परेको हुँदा साइकल चालकलाई जोगाउन खोज्दा दुर्घटना भएको अनुमान गरिएको बताउनुभएको थियो ।

बोलेरो पिकअप र चालक रोल्पाको त्रिवेणी-२ का २९ वर्षिय निर्मल बुढालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस