२०८१ बैशाख ५ गते बुधवार

पाल्पामा जिप दुर्घटनामा परी १० जनाको मृत्यु

पाल्पा, २ फागुन । पाल्पामा ‘ओभरलोड’ यात्रु बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

जिपमा सवार दुई महिने बालिकासहित १७ जना घाइते छन् । तिनाउ गाउँपालिका-६ मस्यामको सिखरडाँडा जाँदै गरेको जिप मंगलबार चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो ।

घटनास्थलमा ८ र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डीएसपी सुगन्ध श्रेष्ठका अनुसार मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका-६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी, ३९ वर्षीय रामबहादुर अस्लामी र ६७ वर्षीय कृणबहादुर अस्लामी छन् ।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका २ खुर्साने बस्ने २० वर्षीया गीता सुनार, पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्या बस्ने ६६ वर्षीया विष्णुकला कामी र सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने ७० वर्षीय चन्द्रगोपाल रणपाल, बुटवल १४ कै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका-५ की २९ वर्षीया दिलमाया जिसीको पनि दुर्घटनामा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको मुस्ताङ जिप चिदिस लुम्पेकडाँडा घुम्ती सडकमा दुर्घटनामा परेको हो । कच्ची, उकालो र घुम्ती सडकमा दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईंले बताउनुभयो । घाइतेहरूमा महिला ८, बालक ४, बालिका ३ र पुरुष २ जना रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ३६ दिने बालकसहित १७ जनाको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज प्रभासका कम्पनी सचिव कृष्ण पराजुलीले बताउनुभयो । चालक तानसेन नगरपालिका-१० का दानबहादुर चिदीका अनुसार घुम्तीमा गाडीमा बेग्लै आवाज आएर पछाडि हटेपछि भीरबाट तल खसेको हो ।

दुर्घटनाग्रस्त जिप घुम्तीदेखि झण्डै १ सय ५० मिटर तल सोही सडकको तल्लो भागमा खसेको उद्धारमा खटिएका स्थानीय दिनेश घिमिरेले बताउनुभयो । प्रहरीले जिप चालक पाल्पाको तानसेन नगरपालिका-१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस