२०८१ माघ ९ गते बुधवार

सहिदको योगदानबारे विद्याथीमाझ चर्चा

दाङ । सहिदको सम्मान र योगदानको कदर गर्नुपर्ने तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा इंलिस बोर्डिङ स्कुलमा मंगलबार सहिद दिवसका अवसरमा गरिएको कार्यक्रममा वक्ताहरुले सहिदको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका योद्धाहरूको योगदानको सम्मान गर्नुपर्ने बताएका छन् ।

अधिवक्ता सालिकराम रेग्मीले सहिदको योगदानबारे विद्यार्थीलाई बुझाउन आवश्यक रहेको बताउनुभयो । विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती बबई क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहेका रेग्मीले सहिदको बलिदानीकै कारण नेपाली नागरिकले स्वतन्त्रता प्राप्त गरेको बताउनुभयो ।

अधिवक्ता रेग्मीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र , राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएको आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुले देखाएको बाटोमा हिडेपछि मात्र सहिदहरुको आत्माले शान्ति पाउने बताउनुभयो ।

उहाँले मुलुकमा पछिल्लो अवस्थामा झैझगडा र दुर्घटनामा ज्यान गुमाएको व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको अपमान भएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरेपनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको बताउनुभयो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप वलीले विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई सहिदप्रतिको सम्मान र उनिहरुले देखाएको बाटोमा हिड्न प्रेरित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

पछिल्लो अवस्थामा विद्यार्थीहरुमा विदेशको मोह बढदै गएकाले देशभक्ति भावना हराउँदै गएको र विद्यार्थीहरुलाई देशप्रतिको माया जगाउनमा यो कार्यक्रमले महत्वपुणर् भुमिका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरु सन्दीप चौधरी, दीक्षा शाह, मनिस केसी, अमित नेपाली लगाएतले वक्तासंग जिज्ञासा पनि राखेका थिए । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस