२०८१ माघ २ गते बुधवार

विद्यार्थीहरुलाई उत्पादनसँग जोड्नुपर्छ : डिन शर्मा

तुलसीपुर, २६ पुस ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डा. डिल्लीराज शर्माले विद्यार्थीहरुलाई उत्पादनसँग जोड्नु आवश्यक रहेको कुरामा जोड दिनुभएको छ ।

कलेजहरुले विद्यार्थीलाई उत्पादनसँग जोड्न नसक्दा विदेश पलायनको अवस्था सृजना भएको उहाँले बताउनुभयो ।

तुलसीपुर मेट्रो कलेजमा आयोजना गरिएको उद्यमशिलता सम्बन्धि कार्यशालाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले दक्ष जनशक्तिहरुलाई रोजगारसँग जोड्ने नीति सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारले पनि ठूलो आकारका जनशक्तिहरुले रोजगार पाउने खालका उद्योगहरुको स्थापनामा ध्यान दिनुपर्ने उहाँको भनाइृ छ । विद्यार्थीहरुले नेपालमा उचित अवसर नपाएर विदेश गएको बताउँदै उहाँले अवसर सृजनाका लागि सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका बोल्दै कलेजका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले प्राविधिक शिक्षाका माध्यमबाट युवाहरुलाई स्वरोजगार बनाउनका लागि कलेजको स्थापना गरिएको कुरामा जोड दिनुभयो ।

सो अवसरमा ह्याङ्दोङ ग्लोबल युनिभर्सिटी कोरियाका प्राध्यापक सु वाई चाङले सीप र रोजगारीलाई सँगसँगै लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

उहाँले तुलसीपुर मेट्रो कलेजले प्राविधिक शिक्षाको विकासमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले विद्यार्थी र युवाहरुलाई व्यवसायमा लगाउनका लागि इन्क्युबेसन सेन्टर स्थापनाको आवश्यकता रहेको बताउनुभयो ।

तुलसीपुर मेट्रो कलेज, ह्याङ्दोङ ग्लोबल युनिभर्सिटी कोरिया र त्रिभुवन विश्वविद्यालयको साझेदारीमा युवाहरुलाई व्यवसाय प्रवद्र्धन सम्बन्धित २ दिनसम्म आयोजना गरिएको गोष्ठीको समापन कार्यक्रमको अध्यक्षता कलेज प्रमुख वसन्त आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस