तुलसीपुर, २६ पुस । तुलसीपुर उपमहानगरपालिका वडा-१२ सितलपुरदेखि कचिला गाँउसम्म पक्की नाला निर्माण गरिने भएको छ । पक्की नाला निर्माणको लागि सघन सहरी तथा भवन डिभिजन कार्यालय संघको १ करोड बजेट प्राप्त भएको वडा अध्यक्ष खुशीराम चौधरीले जानकारी दिनुभयो ।
अध्यक्ष चौधरीका अनुसार सितलपुरदेखि कचिला गाँउसम्म दुवैतर्फ गरि करिब एक हजार ८ सय मिटर पक्की नाला निर्माण हुने भएको छ । त्यसको लागि स्थानियहरुसंग छलफल गरिएको बताउनुभयो ।
यस्तै कचिला गाँउकै रामनगर टोलमा एक हजार पक्की नाला निर्माणको लागि प्रदेशको बजेट परेको बताउनुभयो । एकिकृत बस्ती विकास योजना अन्तर्गत तुलसीपुर उपमहानगरको १५ लाख र वडाको ५ लाख गरी २० लाख बजेट रहेको वडाले जनाएको छ ।
१२ नम्बर वडामा सडक कालोपत्रे र नाला निर्माण काम धेरै ठाँउहरुका सम्पन्न भइसकेको छ । शहरी तथा भवन डिभिजन कार्यालय प्रदेशको २ करोड ८० लाख बजेटमा रझेनामा ९ सय मिटर कालोपत्रे सहितको पक्की नाला, रझेनि थारु गाँउमा ८ सय मिटरको कालोपत्रे सहितको पक्की नाला, हरिपौरीमा ३ सय मिटरको पक्की नाला लगाएत विभिन्न ठाँयमा काम सम्पन्न भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । अरु निर्माणको प्रक्रियामा रहेको उहाँको भनाई छ ।