सल्यान, २३ मंसिर । सल्यानको कपुरकोट गाउँपालिकाले रोजगारी सिर्जना गर्न पालिकामा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विद्यालयमार्फत सिप दिन थालेको छ । पालिकामा रहेका पाँच वटा माध्यमिक विद्यालयमार्फत सिप प्रदान गरी जनशक्ति उत्पादन गर्न थालिएको हो ।
विद्यालयस्तरबाट सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने र आत्मनिर्भर बनाउन पालिकाका पाँच वटा माध्यमिक विद्यालयमा सिप विकास केन्द्र स्थापना गर्न लागिएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
स्थानीयस्तरमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न विद्यालयलाई आधार बनाएर सिप विकास केन्द्र स्थापना गरिने उहाँले बताउनुभयो । ‘माटो सुहाउँदो जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य छ ।’ उहाँले भन्नुभयो-‘सिप भएका जनशक्तिलाई पालिकामै रोजगारी दिने योजना बनाएका छौँ ।’
विद्यालयबाटै सिपयुक्त जनशक्ति उत्पादन गर्ने योजना कपुरकोट गाउँपालिकाले संभवत ः नेपालमै पहिलो ल्याएको अध्यक्ष पुनले बताउनुभयो ।
पालिकाले यसवर्षलाई जागरण वर्षको रुपमा लिएको छ । सोहि अभियान अन्तर्गत पालिकाले विद्यालयस्तरबाटै सिपयुक्त जनशक्ति उत्पादन गर्न थालिएको हो ।
विद्यालय बेरोजगार उत्पादन गर्ने कारखानाहरु हुन् भन्ने भास्यलाई परिवर्तन गर्न रोजगारी सहजै पाउने सिपयुक्त जनशक्ति उत्पादन गर्न थालिएको अध्यक्ष पुनले बताउनुभयो ।
सिपयुक्त जनशक्ति उत्पादन गर्नका लागि पालिकाका पाँच वटा माविमा विभिन्न शिर्षकमा तालिम संचालन गर्न लागिएको छ । हावस वायरिङ, प्लम्बिङ, पेन्टर, सिकर्मी र डकर्मी तालिम पाँच विद्यालयमा संचालन गर्न लागिएको छ ।
कपुरकोट-५ मा रहेको जीवन ज्योति नमुना माविमा १५ जनालाई आधारभूत हावस वाईरिङ, कपुरकोट-४ मा रहेको नेपाल राष्ट्रिय माविमा १५ जनालाई प्लम्बिङ तालिम दिइने भएको छ । यसैगरी कपुरकोट-३ मा रहेको कालिका माविमा ४० जनालाई पेन्टर तालिम, कपुरकोट-२ मा रहेको बिरेन्द्र माविमा १५ जनालाई सिकर्मी तालिम र कपुरकोट ६ मा रहेको भवानी माविमा २० जनालाई डकर्मी तालिम प्रदान गरिने कपुरकोट गाउँपालिकाकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।
विद्यालयमा १६ वर्ष उमेर पुगेका विद्यार्थीदेखि अन्य युवायुवती पनि सिप सिक्नका लागि जोडिन सक्ने उहाँले बताउनुभयो ।
तालिममा सहभागिता जनाउन विद्यालयमार्फत वा सिधै गाउँपालिकाको सामाजिक विकास शाखामा हस्तलिखित निवेदन र तोकीएको आवेदन फाराम भरी दर्ता गराउन सकिने उहाँले बताउनुभयो ।
तालिम संचालनका लागि व्यवस्थापन गरिएका शिक्षण सामाग्रिहरु सोही विद्यालयमा रहने र पालिकाको समन्वय र सहकार्यमा आगामी दिनहरुमा निरन्तता दिने लक्ष्य समेत गाउँपालिकाले राखेको उहाँको भनाई छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यान र कपुरकोट गाउँपालिकाको साझेदारीमा कार्यक्रम संचालन गर्न लागिएको हो ।