तुलसीपुर, १९ मंसिर । दाङमा दुई छुट्टाछुटै दुर्घटनामा दुई जना घाइते भएका छन् । तुलसीपुरमा दुईवटा स्कुटी ठोक्किदा तुलसीपुर ६ निवासी १० वर्षीया डिजिका डाँगी घाईते भएको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
तुलसीपुरको बसपार्कबाट विरेन्द्र चोकतर्फ आउँदै गरेको रा ६ प ४०२३ नम्बरको स्कुटी र नामिनगरबाट बसपार्कतर्फ जादै गरेको रा ८ प २०१५ नम्बरको स्कुटी तुल्सी बोर्डीङ चोक नजिकै सोमबार दिउँसो आपसमा ठोक्किदा रा ६ प ४०२३ नम्बरको स्कुटीमा पछाडी सवार रहेकी डाँगी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते बालिकाको शरिरमा भित्री चोट रहेकाले तुल्सी बालअस्पतालमा उपचारपछी हड्डी सम्बन्धि डाक्डरलाई देखाउने गरि डिस्चार्ज भएको प्रहरीले बताएको छ । दुबै स्कुटीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै तुलसीपुरमा बसको ठक्करबाट एकजना घाइते भएका छन् । ठक्करबाट रोल्पाको माडी गाउँपालिका १ झनुवाका ४४ वर्षीय मोहनलाल वली घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार दिउँसो सवा ३ बजेको समयमा तुलसीपुरको बसपार्कबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख १३३४ नम्बरको बसले तुल्सी बोर्डीङ चोक नजिकै सोही बसबाट झरेर जाने क्रममा वलीलाई ठक्कर दिएको हो । घाइते वलीको तुलसीपुर सिटी हस्पिटलमा सामान्य उपचारपछी थप उपचारको लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।