दाङ, १८ मंसिर । दाङमा तीन छुट्टाछुट्टै दुर्घटनामा चार जना घाईते भएका छन् । दाङ-सल्यान सडक खण्ड अन्तर्गत तुलसीपुर-४ रक्षाचौरमा गोठी खोलातर्फ जाँदै गरेको लु १३ प ५६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत हुँदा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ४ पोख्रेका ४५ वर्षिय सुनलाल खड्का र सोहि ठाउँका १८ वर्षिय रुपा खड्का घाईते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सुनलालको अवस्था मध्यम रहेको छ भने रुपा सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । मोटरसाइकले आइतबार साँझ सवा ६ बजेतिर दुर्घटनामा परेको हो ।
यस्तै तुलसीपुरबाट जुम्ल्याहखोलातर्फ जाँदै गरेको रा १ ह ५१०४ नम्बरको अटोले आइतबार दिउँसो साढे चार बजेतिर शान्तिनगर ३ गनाडीमा राजु बुढाथोकीको ४ वर्षिय छोरा विषेशलाई ठक्कर दिँदा घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै आइतबार दिउँसो १ बजेतिर रानागाउँबाट बेलुवातर्फ आउँदै गरेको रा ८ प १९२१ नम्बरको मोटरसाइकल तुलसीपुर ९ बेलुवामा दुर्घटना हुँदा सोहि ठाउँ निवासी १८ वर्षिय किरण रोका घाईते हुनुभएको प्रहरीले जनाएको छ । घाइते सबै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।