२०८१ जेष्ठ ९ गते बुधवार

झरना हेरेर फर्किने क्रममा स्कुल बस दुर्घटना

उदयपुर,९ मंसिर। उदयपुरको त्रियुगा नगरपालिका–५ देउरीस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटना हुँदा दर्जनौं गम्भीर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तरगत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको जानकारी दिए । दुर्घटना अपरान्ह १ बजेतिर भएको जनाइएको छ ।

सोही विद्यालयका अभिभावकहरुले बस रिजर्भ गरेर पिकनिक खान लगेको र फर्किने क्रममा दुर्घटना भएको हो । बसमा बालबालिकाहरु समेत रहेको जनाइएको छ ।

घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा लगिएकाे र गम्भीर अवस्थाका घाइतेहरुलाई विराटनगरतर्फ रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।

बसमा ३५ जना जति रहेको अनुमान प्रहरीको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए ।

३४ जनालाई जिल्ला अस्पताल उदयपुरमा लगिसकेर उनीहरुको उपचार सुरु भएको जनाइएको छ ।

अँधेरीस्थित अँधेरी झरना हेरेर फर्किने क्रममा स्कुल बस दुर्घटना भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस