दाङ, २४ कार्तिक ।
तिहार नजिकिदै गर्दा दाङ उपत्यकाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । धान बेचेर तिहारको खर्च जोहो गर्नुपर्ने भएकाले पनि अधिकांश किसानले तिहारअघि नै धान भित्र्याउँदै छन् ।
असार र साउनमा रोपेको धान अहिले पाकेर पहेँलपुर भएको छ । कतिपय ठाउँमा किसानले धान काटेर पनि भित्र्याइसकेका छन् भने कतिपय ठाउँमा अहिले धान काट्ने र भित्र्याउने चटारो छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ माथिल्लो हलवारका सिर्जन पौडेलले शनिबार नै धान भित्र्याइसकेको बताउनुभयो ।
दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेपनि यसवर्ष ३५ हजार ५४० हेक्टर क्षेत्रफलमा धान खेती भएको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामिछानले बताउनुभयो ।
यसवर्ष ३५ हजार ५४० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । यसवर्ष वर्षात पनि समयमै भएका कारण धानखेती उत्पादन राम्रो भएको अनुमान गरिएको छ । जिल्लामा यसवर्ष १ लाख ५९ हजार ९३० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार धान उत्पादनमा दाङ आत्मनिर्भर छ । दाङमा उत्पादन भएको धानले छिमेकी जिल्ला सल्यान, रोल्पा लगायतका जिल्लालाई पनि माग धानिरहेको छ ।


