२०८१ असोज ४ गते शुक्रवार

लुम्बिनी प्रदेश : सवारी दुर्घटनामा परी २७ जनाको मृत्यु

दाङ, १७ कात्तिक ।
लुम्बिनी प्रदेशमा १५ दिनको अवधिमा मात्र ७६ वटा सवारी दुर्घटना भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार दशैँको घटस्थापना देखि कोजाग्रत पुणर्िमाको दिनसम्म (१५ दिन) को अवधिमा प्रदेशका १२ जिल्लामा ७६ वटा सवारी साधनहरु दुर्घटना परेका हुन् ।

दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ भने १ सय २ जना घाइते भएका छन् । दशैँको अवधिमा रुपन्देहीमा सबैभन्दा बढी १५ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै बाँकेमा १२, कपिलबस्तुमा १२, दाङमा १०, नवलपरासीमा ७, बर्दियामा ७, पाल्पामा ५, अर्घाखाँचीमा ४, प्युठानमा ३, गुल्मीमा १ वटा दुर्घटना भएका छन् भने रोल्पा र पुर्वी रुकुममा कुनैपनि दुर्घटना नभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं सुचना अधिकारी कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

त्यस्तै सवारी दुर्घटनाबाट पाल्पामा सबैभन्दा धेरैको मृत्यु भएको छ । गत असोज २८ देखि कात्तिक ११ गतेसम्म पाल्पामा सवारी दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना पुरुष छन भने ३ जना महिला रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मल्ली मगरका अनुसार सोही अवधिमा रुपन्देहीमा ३ पुरुष र १ महिला गरि ४ जनाको मृत्यु भएको छ भने नवलपरासीमा ४ जना पुरुष, दाङमा ३ पुरुष र १ महिला गरि ४ जना, बर्दियामा ३ जना पुरुष, बाँकेमा २ जना पुरुष,कपिलबस्तुमा १ पुरुष,गुल्मीमा १ पुरुष,अर्घाखाँचीमा १ पुरुषको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा एक वर्ष देखि ६० वर्ष माथी उमेर समुहका रहेका छन् ।

दशैँको अवधिमा सवारी कम हुदाँ यात्रुको चाप बढी हुने,भौगोलिक विकटता, चालकको लापरबाही, मापसे,साँघुरो सडक लगाएतका कारण चाडपर्वको समयमा बढी दुर्घटना हुने गरेको प्रवक्ता मगरले बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस