दाङ, १३ कात्तिक । दाङको बिजौरी हुदैँ रोल्पा होलेरी–दहबन जोड्ने सडक–खण्डमा पर्ने रानीवास स्थित ग्वारखोलामा पुुल निर्माणका लागि सरोकारवालाले चासो देखाएका छन् ।
रोल्पाको रुन्टीगढी गाँउपालिका वडा नं. ६ र ८ अन्तगर्त पर्ने रानीबासको ग्वारखोलामा पुल निर्माणमा सरोकारवालाले चासो देखाएका हुन् । पुल नबन्दा स्थानीयलाई सास्ती छ । उनीहरुले जोखिम मोलेर बा¥है महिना खोला वारपार गर्ने गरेका छन् ।
अवलोकनमा पुगेका लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले दाङ र रोल्पाको सिमानामा रहेको ग्वारखोला पुलको अत्यन्तै आवश्यक भएकाले प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकतामा पार्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका र रुण्टीगढी गाउँपालिका लुम्बिनी प्रदेशको कार्यक्षेत्र भित्र पर्ने भएकोले यी दुई पालिकाहरुले यस क्षेत्रलाई प्राथमितामा राखेर बिकास निमार्णमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
आइतवार बिजौरी उद्योग वाणिज्य सघंको नेतृत्वमा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसी,तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का, इन्जिनियर पवन योगी, तुलसीपुर १९ का वडाध्यक्ष प्रेमनाथ योगी,रुण्टीगढी गाँउपालिकाका अध्यक्ष जनक पुन, विभिन्न राजनितिकदलका अध्यक्ष तथा प्रतिनिधिहरु लगाएतको टोलीले दाङ र रोल्पाको सिमानामा पर्ने रानीवास क्षेत्रको ग्वारखोलामा पुगेर अवलोकन गरेको हो ।
उपाध्यक्ष केसीले तुलसीपुर र रुण्टीगढी गाँउपालिकाको नेतृत्वमा प्रदेश योजना आयोगले ग्वारखोलामा बेलिब्रिज निमार्णका लागि पुर्णरुपले पहल गर्ने र आउँदो आर्थिक वर्षका लागि पुर्ण बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले तुलसीपुरको विकास र समृद्धिका लागि बिजौरी हुदैँ होलेरी दहबन जोड्ने बाटो बाहेक अन्य विकल्प नरहेको बताउनुभयो ।
उहाँले बिजौरी हुदैँ दहबनसम्मको सडकलाई स्त्तरोउन्नतीका लागि मेटमणी चौधरी र सिता गुरुङ् सहरीमन्त्री हुदाँ इस्टेमेट पेश गरेपनि सिलिङ् पर्न नसकेको बताउनुभयो । तर यसपटक बजेटको सुनिश्चिता गर्न ढिलाई हुने भएकोले प्रदेश सरकारको पहलमा बेलिबिज्र निमार्ण गर्ने तयारी थालेको बताउनुभयो ।
त्यस्तै रुण्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले स्थानीयवासीको लागि समस्या बनेको यो बाटो केही राजनितिक पार्टीहरुका लागि चुनावी नारा मात्र बनेको तर्क गर्नुभयो । उहाँले रानीवासमा पुल निमार्णका लागि धेरै प्रयास भएको र आफुहरु मन्त्रालयमै पुगेर पटक–पटक माग गरेपनि कतैबाट सुनुवाई नभएको गुनासो गर्नुभयो ।
रानीवासमा पुल निमार्ण गर्नका लागि ६ करोडको लागतमा डिपिआर भैसकेको भएपनि काम हुन नसकेको उहाँले बताउनुभयो । बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष रेश्मीराज खडकाले ग्वारखोलामा पुल निर्माण भएपछि रोल्पा र दाङको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
बिजौरी उद्योग वाणिज्य सघंका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गर्नुभएको हो ।