२०८१ माघ १ गते मङ्गलवार

बडा दशैँको आज सातौँ दिन, घरघरमा फूलपाती भित्र्याइदै

दाङ, ४ कार्तिक । आज बडादशैँ अन्तर्गत फूलपाती । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा फूलपाती भित्र्याइँदै छ ।

विभिन्न वनस्पति र फूललाई फूलपातीका रुपमा घर घरमा प्रवेश गराउने प्रचलन रहेको छ । शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस स-परिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आ-आफ्ना घर फर्कने क्रम अझ तीव्र बनेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस