२०८१ माघ ६ गते आइतवार

आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा आराधना

दाङ, २ कार्तिक । नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिंदैछ ।

बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म दुर्गा भवानीका विभिन्न नौ वटा फरक -फरक रूपहरूको पूजा गर्ने परम्परा चलिआएको छ । त्यसै अन्तर्गत आज स्कन्दमाताको पूजा आरधना गरिदैछ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ ।

भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाताले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् भन्ने मान्यता छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मानिन्छ ।

धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वणर् पहेंलो चित्रण गरिएको छ । यी देवीले सिंहमा बिराजमान भई हातमा कमलको फूल धारण गरेकी छन् ।

स्कन्दमाता देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने धार्मिक विश्वास छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतीक मानिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको बडा दशैमा विशेष पूजा र आरधना गर्ने गरिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस