
दाङ, २७ असोज । दाङमा एकसाताको अवधिमा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक सातामा पानीमा डुबेर दुई जना र सवारी दुर्घटनामा एक जना गरी तीन जनाको मृत्यु भएको छ । यस्तै विभिन्न घटनामा परेर तीन जना घाइते भएका छन् ।
गत मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १९ पकरेका ५६ वर्षिय लाल बहादुर बिकको कुलोमा बगेर मृत्यु भएको हो । बिक आफ्नो भाईको घर जान्छु भनी हिडेकोमा भाईको घरमा नपुगेको हुँदा खोजतलास गर्दै जाँदा बुधबार ७ बजे घर देखि ३०० मिटर दक्षिणतर्फ रहेको कुलोमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
यस्तै गत शनिबार लमही नगरपालिका ८ उचानिम्बका बिजय कुमार चौधरीको छोरी बर्ष १४ की रिणु चौधरीको पानीमा डुबेर मृत्यु भएको हो । घरदेखि ५०० मिटर दक्षिण तर्फ रहेको उचानिम्बु खोलामा नुहाउन भनि गएको समयमा खोला नुहाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बिहिबार बसको ठक्करबाट कपिलवस्तु वाणगङ्गा नगरपालिका—४ घर भइ भालुवाङ पुल्चोक बजारमा व्यवसाय गर्दै आएका अन्दाजी २४ वर्षीया विजय खनालको मृत्यु भएको हो ।
गत शनिबार दंगिशरण गाँउपालिका ७ सिम्ठानाका मनबुझौना चौधरीको छोरी १२ वर्षिया बर्षा चौधरीलाई आफ्नै घरको आगनमा तरकारी पखाल्ने क्रममा नाम नखुलेको बिषालु सर्पले टोकेको हो ।
घाइते वर्षलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । यस्तै आइतबार राप्ती गाँउपालिका २ पाखापानी का ३२ वर्षिया साबित्रा भुषाल सर्पको टोकाइबाट घाइते भएकी हुन् ।
बारीमा घास काट्ने क्रममा बिषालु सर्पले दाहिने हातमा टोकी घाइते भुषाललाई उपचारको लागी लमही अस्पतालमा पुर्याइएको थियो । लमहीमा उपचार पश्चात उहाँलाई डिश्चार्ज गरिएको छ
। बुधबार राजपुर गाँउपालिका ५ जंरहवाका ४२ वर्षिय सरिता यादवलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा घाइते भएकी थिइन् । घाईते यादवलाई लमही अस्पतालमा उपचार पश्चात डिश्चार्ज गरीएको डिएसपी मल्लले जानकारी दिनुभयो ।