२०८१ माघ ८ गते मङ्गलवार

लुम्बिनीमा मातृ मृत्युदर उच्च

दाङ, १८ असोज । देशका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च रहेको पाइएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको नेपाल मातृ मृत्यु अध्ययन प्रतिवेदन २०७८ ले लुम्बिनीमा मातृ मृत्युदर सबैभन्दा धेरै देखाएको हो ।

लुम्बिनीमा प्रति एक लाख जीवित जन्म हुँदा मातृ मृत्यु अनुपात दुई सय सात रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार मातृ मृत्यु अनुपात सबैभन्दा धेरै लुम्बिनीमा दुई सय सात र सबैभन्दा कम बागमती प्रदेशमा ९८ छ ।

त्यस्तै कणर्ाली प्रदेशमा एक सय ७२, गण्डकी प्रदेशमा एक सय ६१, कोशी प्रदेशमा एक सय ५७, मधेश प्रदेशमा एक सय ४० र सुदूरपश्चिम प्रदेशमा एक सय ३० रहेको नेपाल मातृ मृत्यु अध्ययन २०७८ ले देखाएको छ ।

प्रतिवेदनले संख्याको हिसावले लुम्बिनीमा एक सय ५८ जना आमाको मृत्यु भएको पाइएको छ । लुम्बिनीमा सबैभन्दा धेरै मातृ मृत्यु बाँकेमा देखाएको छ । बाँकेमा ३६, रुपन्देहीमा ३०, कपिलवस्तुमा २८, दाङमा १५, बर्दियामा १४, नवलपरासी पश्चिम र गुल्मीमा सात/सात, रोल्पा र प्युठानमा छ/छ, र अर्घाखाँची र पाल्पामा चार/चारजना आमाको मृत्यु भएको देखाएको हो ।

प्रतिवेदनले उमेर समूहअनुसार लुम्बिनीमा १५ देखि १९ वर्षका आठ प्रतिशत, २० देखि २४ वर्षका २९ प्रतिशत, २५ देखि २९ वर्षका २७ प्रतिशत, ३० देखि ३४ वर्षका १७ प्रतिशत र ३५ देखि ४९ वर्ष उमेर समूहका १९ प्रतिशत आमाको मृत्यु भएको छ ।

यस्तै मृत्यु हुने आमाहरुमा ३८ जना कहिल्यै विद्यालय नगएको वा थाहा नभएका छन् भने एकदेखि आठ कक्षा अध्ययन गरेका २४ प्रतिशत, नौदेखि १२ कक्षा अध्ययन गरेका ३२ प्रतिशत र स्नातक र त्यो भन्दा माथि शिक्षा हासिल गरेका छ प्रतिशत आमाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस