२०८१ माघ २ गते बुधवार

राप्ती प्रादेशिक अस्पतालमा वर्षेनी बिरामीको चाप बढ्दै

तुलसीपुर, ११ असोज । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने बर्सेनि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालले सार्वजनिक गरेको विवरण अनुसार तीन वर्षको अवधिमा ३ लाख बढीले सेवा लिएका छन् ।

अस्पतालका सुचना अधिकारी भुषण सुवेदीले आर्थिक वर्ष २०७७/२०७८ देखि बितेको आर्थिक वर्ष २०७९/२०८० सम्ममा ३ लाख ३७ हजार ९१५ जनाले सेवा लिएको बताउनुभयो ।

सुचना अधिकारी सुवेदीका अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा ५२ हजार ३७९ जनाले सेवा लिएका छन् । यस्तै आर्थिक वर्ष २०७८/२०७९ मा १ लाख १९ हजार ७२९ र बितेको आर्थिक वर्ष २०७९/२०८० मा १ लाख ६५ हजार ८०७ जनाले सेवा लिएका छन् ।

तीन वर्षको तथ्यांकलाई हेर्दा दैनिक सरदर ३ सय बढीले सेवा लिने गरेका छन् भने पछिल्लो एक वर्षको तथ्यांकलाई मात्रै हेर्दा दैनिक सरदर साढे ४ सय बढीले सेवा लिने गरेको देखिएको छ ।

अस्पतालमा वर्षेनी सेवा लिने बिरामी बढेपनि जनशक्ति र संरचनाको अभाव भने कायमै रहेको छ । सिमित जनशक्ति र सिमित संरचनाको बिचमा सेवा प्रदान गर्दा बिरामीलाई सेवा लिन असहजता हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पदमराज अधिकारीले बताउनुभयो ।

अस्पतालमा अहिले कुल १८० जनाको जनशक्ति रहेको छ । अहिलेको जनशक्ति अपर्याप्त रहेकोले पनि आईसीयु सेवा संचालन गर्न कठिनाई भएको उहाँको भनाई छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले सकेसम्म गुनासो नआउने गरी सेवा प्रवाह गर्न लागिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस